काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएको भैरहवा कारागारको अवस्था गम्भीर रहेको राष्ट्रिय मानवअधिकार आयोगले पुष्टि गरेको छ। आयोगको स्थलगत अनुगमनले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेको र आधारभूत मानवीय सुविधाहरूको अभाव देखाएको छ।
आयोगकी आयुक्त लिली थापा र इन्सेककी प्रतिनिधि रिमा बिसीको नेतृत्वमा भएको अनुगमन टोलीले लामिछानेको कोठा निकै असहज र अमानवीय अवस्थामै रहेको जनाएको छ। लामिछानेको कोठामा एसी छैन, झ्याल प्लाइउडले पूर्णरूपमा बन्द गरिएको छ र हावा आवतजावत हुन सकेको छैन। गर्मीमा मात्र दुई पंखाले राहत दिइरहेको छ।
कारागार प्रशासनले सुरक्षाका कारण झ्याल बन्द गरेको बताएको भए पनि आयोगले खोल्न आग्रह गरेको छ र कारबाही प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ। कोठामा खुला शौचालय रहेको र अरु कुनै सुविधा नगण्य रहेको अनुगमन टोलीले जनाएको छ। लामिछानेले आफूले खाइरहेको खानामा भने सन्तुष्टि व्यक्त गरेका छन्।
अत्यन्तै चिन्ताजनक विषय भनेको अदालतले अन्यत्र स्थानान्तरण गर्न दिएको आदेश सरकारले कार्यान्वयन नगरेको हो, जसमा आयोगले कारागार व्यवस्थापन विभागसँग गम्भीर छलफल गर्ने तयारी गरेको छ।
२५० जनाको क्षमताको कारागारमा हाल ७०० भन्दा बढी कैदीबन्दी रहेका छन्। पर्याप्त र सफा शौचालयको अभावका कारण न्यूनतम मानवअधिकार समेत उल्लंघन भइरहेको आयोगले जनाएको छ।
स्रोत र पूर्वाधारको कमीले गर्दा कैदीबन्दीहरू आधारभूत अधिकारबाट वञ्चित हुन पुगेको आयोगको निष्कर्ष छ। क्षमताभन्दा बढी कैदी राखिनु मानवअधिकारको गम्भीर उल्लंघन भएको आयोगको ठहर छ।
प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार












प्रतिक्रिया