काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले युरोपभरिका जनसम्पर्क समितिहरूलाई अझ सक्रिय बनाउनु आवश्यक रहेको बताएका छन्। बेल्जियममा सम्पन्न युरोपभरिका जनसम्पर्क समिति प्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै उनले बेल्जियमलाई युरोपको केन्द्रबिन्दुको रूपमा औंल्याए र यहाँका सक्रिय साथीहरूको कारण युरोपमा जनसम्पर्क समितिको भूमिका निकै महत्वपूर्ण रहेको बताए।
डा. महतले पूर्वी युरोपका देशहरू — रोमानिया, क्रोएसिया, हंगेरी, अल्बानिया र बुल्गेरियामा ठूलो संख्यामा नेपाली बसोबास गरेको बताउँदै ती क्षेत्रहरूमा जनसम्पर्क समिति विस्तार गर्नुपर्ने जोड दिए। युरोपमा नेपाली दोस्रो पुस्तामा प्रवेश गरिसकेको हुँदा संगठनलाई थप सुदृढ र एकीकृत गर्न आवश्यक रहेको उनले बताए। साथै, डेनमार्कमा देखिएका समस्याहरू समाधान गरेर त्यहाँको जनसम्पर्क समिति सुदृढ गर्ने दिशामा काम भइरहेको पनि उनले जानकारी दिए।
डा. महतले विश्वका विभिन्न भागहरू—युरोप, अमेरिका, मध्यपूर्व र दक्षिणपूर्व एसियामा धेरै नेपालीहरू बसोबास गरेकाले अब नेपालको राजनीतिलाई मात्र केन्द्रबिन्दु बनाएर अघि बढ्नु पर्याप्त नभएको बताए। विदेशमा रहेका नेपालीहरूको नेपालसँगको सम्बन्ध र उनीहरूको चासो–चिन्तालाई सम्बोधन नगरे आगामी निर्वाचनमा प्रभाव पर्ने सक्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए।
विदेशी बसोबासी नेपालीहरूको विषयमा निर्णायक भूमिका नेपाली कांग्रेसले खेलेको पनि डा. महतले बताए। व्यक्तिगत रूपमा उनले दोहोरो नागरिकताको पक्षमा रहेको बताउँदै यसले नेपाल–विदेश जोड्ने नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे। तर यसका लागि देशभित्रका सरोकारवालाहरूसँग छलफल र बुझाइ आवश्यक हुने पनि उनले बताए।
यसरी नेपाली कांग्रेसले विश्वभरिका नेपालीहरूसँग सम्बन्ध सुदृढ गर्दै पार्टी र राष्ट्र दुवैको विकासमा योगदान पुर्याउने उद्देश्य राखेको छ।
प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार












प्रतिक्रिया