काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सबै संरचनामा ४० प्रतिशतभन्दा बढी युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने एकमात्र राजनीतिक शक्ति माओवादी केन्द्र भएको दाबी गरेका छन्।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले युवाको रगत, पसिना र बलिदानीपूर्ण संघर्षकै आधारमा सामन्तवादको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको उल्लेख गरे।

advertisement

उनका अनुसार माओवादी केन्द्रले युवालाई केवल भविष्यको नेतृत्वको रूपमा मात्र होइन, वर्तमानको निर्णायक शक्ति र परिवर्तनको अग्रपंक्तिको पात्रका रूपमा स्वीकार गरेको छ। “गर्वका साथ भन्न चाहन्छु— नेपालमा पार्टीका सबै अङ्गमा ४० प्रतिशतभन्दा बढी युवाको सहभागिता सुनिश्चित गर्ने एक मात्र पार्टी माओवादी केन्द्र हो,” प्रचण्डले भने।

पूर्वप्रधानमन्त्री प्रचण्डले माओवादी नेतृत्वको सरकारले युवालाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा सबल बनाउन विशेष प्राथमिकता दिएको बताए। उनले युवा स्वरोजगार कोष स्थापना गरी हजारौँ युवालाई कृषि, उत्पादन र सेवा क्षेत्रमा रोजगारीको अवसर प्रदान गरेको, राष्ट्रिय युवा परिषद् गठन गरेर युवाको हक, अधिकार र सहभागितालाई संस्थागत गरेको र युवा उद्यमशीलता कार्यक्रममार्फत सीप, तालिम तथा लगानी पहुँच दिलाएको उल्लेख गरे।

युवामा नवप्रवर्तनलाई प्रोत्साहन गर्न ‘स्टार्टअप प्रोत्साहन अभियान’ सञ्चालन गरिएको र वैदेशिक रोजगारी वा अन्य क्षेत्रमा अनुभव आर्जन गरेका युवालाई स्वदेशमै व्यवसाय सुरु गर्न ‘रिटर्नी उद्यमी कार्यक्रम’ अघि सारिएको पनि उनले स्मरण गरे।

तर, उनका अनुसार पछिल्ला सरकारले यी कार्यक्रमलाई निरन्तरता नदिए पनि माओवादी सरकारका पालामा सुरु गरिएका योजनाहरू कागजी घोषणामा मात्र सीमित नभई हजारौँ युवाको जीवनमा ठोस परिवर्तन ल्याउने अभ्यासका रूपमा परिणत भएका थिए।

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com