ललितपुर । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले युवावर्गलाई देशको सबैभन्दा ठुलो पुँजीका रूपमा व्याख्या गर्दै उनीहरूको ऊर्जा, समय र क्षमता देशको समृद्धिमा उपयोग गर्नुपर्नेमा जोड दिएकी छन्।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले नेपालको जनसंख्याको ठूलो हिस्सा युवाहरू रहेकोले यो समय विकासका लागि सुनौलो अवसर भएको बताइन्।
“युवाको सिर्जनशीलता र सम्भावनालाई सही ढंगले पहिचान गरी देशको प्रगतिमा प्रयोग गर्न सक्नुपर्छ,” मन्त्री राणाले भनिन्।
विदेशी रोजगारीका कारण देश युवाशून्य बन्दै गएको जस्तो धारणा निर्माण भएकामा उनले चिन्ता व्यक्त गर्दै भनिन्, “म युवाहरू विदेश जानु हुँदैन भन्ने पक्षमा छैन। तर, विदेश गएर ज्ञान, सीप र पुँजी आर्जन गरेर स्वदेश फर्किनुपर्छ। आफ्नो माटोलाई नै समृद्ध बनाउन सबै मिलेर काम गर्नुपर्छ।”
उनले स्वदेश फर्किएका धेरै युवाहरूले विदेशमा आर्जन गरेको सीप, अनुभव र पुँजीलाई उद्यमशीलतामा लगाएर अर्थतन्त्रलाई बलियो बनाइरहेको उदाहरण पनि प्रस्तुत गरिन्।
प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया