काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि समस्या समाधान आयोगका केन्द्रदेखि जिल्ला तहका पदाधिकारीहरूलाई भूमिहीनहरूलाई लालपूर्जा वितरण गरी ऐतिहासिक उपलब्धि हासिल गर्न दृढतापूर्वक काम गर्न निर्देशन दिएका छन्।
आयोगको वार्षिक समीक्षा कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अझै अपूर्ण रहेका सबै जिल्लास्तरीय आयोगहरूलाई दुई साताभित्र पूर्णता दिन आदेश दिए। उनले भने, “यो आयोग विगतका जस्तै निष्क्रिय रहन वा असफलताको सूचीमा पर्नका लागि होइन, काम गरेर परिणाम देखाउन र लालपूर्जाविहीनलाई त्यस बन्धनबाट मुक्त गराउनका लागि गठन गरिएको हो।”
ओलीले भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई अनिवार्य रूपमा जमिन उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याउँदै, त्यसका लागि आवश्यक परे कानुन संशोधन गर्न वा सरकारको पूर्ण सहयोग उपलब्ध गराउन तयार रहेको बताए।
उनले थपे, “विशेष परिस्थितिमा दुई ठूला दलको सहकार्यमा बनेको यो गठबन्धन ढुक्कका साथ २०८४ सम्म टिक्छ। हामी टालटुली, अस्थिर गठबन्धन वा सजावट मात्र हुने सरकार चाहँदैनौं। यस्तो स्थिर सरकारको समयमा आयोगले काम गर्न कुनै बाधा वा दुविधा हुनेछैन।”
प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार













प्रतिक्रिया