काठमाडाैं । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्तरगर्त ‘जसको कोही हुँदैन, उसका लागि सरकार छ’ भन्ने नारालाई सार्थक बनाउने उद्देश्यसहित कर्णाली प्रदेश सरकारले विपन्न, असहाय र बेवारिसे बिरामीलाई यातायात खर्च उपलब्ध गराउने व्यवस्था लागू गरेको छ।
सामाजिक विकास मन्त्रालयका अनुसार अब अस्पताल पुग्न वा उपचारपछि घर फर्कन आर्थिक अभाव भएकालाई भौगोलिक दूरीअनुसार ५ हजारदेखि २० हजार रुपैयाँसम्म सहयोग प्रदान गरिनेछ। यसका लागि सम्बन्धित वडाको सिफारिस वा उपचार गर्ने अस्पतालको प्रमाण आवश्यक हुनेछ।
सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले आर्थिक कठिनाइका कारण कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले योजना ल्याइएको बताए। “यो सुविधाले दुर्गमका गरिब जनतालाई ठूलो राहत दिने अपेक्षा गरिएको छ,” उनले भने।
यसबाहेक, उपचारका क्रममा मृत्यु भई धार्मिक संस्कार गर्न आर्थिक अभाव हुने परिवारका लागि शववाहन खर्च पनि सरकारले व्यहोर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार













प्रतिक्रिया