काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको कारागार कार्यालय रूपन्देहीमा रहेका कोठाको झ्यालमा प्लाइउड हटाएर जाली राखिएको छ।
बिहीबार कारागार कार्यालय रूपन्देहीका प्रशासक सुरेश भण्डारीले जारी गरेको विज्ञप्तिमा यो जानकारी दिइएको छ। विज्ञप्तिमा भनिएको छ, “रवि लामिछानेको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै उनलाई सुरुदेखि नै अलग्गै बन्दीगृहमा राखिएको छ। उक्त कोठामा छुट्टै शौचालयको सुविधा समेत उपलब्ध छ। झ्यालमा रहेको पुरानो प्लाइउड हटाई जाली राखिएको छ। साथै उनलाई सुरुदेखि नै टेलिफोन र भेटघाटको सुविधा नियमित रूपमा उपलब्ध गराइरहेको छ।”
२५० जना क्षमताको उक्त कारागारमा हाल ६४० जना बन्दी रहेका छन्। प्रशासनले जनाएको छ, “क्षमताभन्दा तीन गुणा बढी बन्दी हुँदा पनि कारागारले उपलब्ध स्रोत साधनको सर्वोत्तम उपयोग गरी कानुन अनुसार सेवा सुविधा समयमै प्रदान गर्दै आएको छ। बन्दीहरूलाई खानेकुरा, बस्ने, हिँडडुल गर्ने, पढ्ने, टेलिभिजन हेर्ने र आफन्तसँग भेटघाट तथा टेलिफोन गर्ने सुविधा समान रूपमा उपलब्ध गराइरहेको छ।”
लामिछानेलाई सुप्रिम बचत तथा ऋण सहकारीबाट भएको अपचलनको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएको थियो।
प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया