काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पर्वतारोहणसम्बन्धी नीति सुधार, नियमन र सहजीकरणका लागि सरोकारवालाको सुझाव अपरिहार्य भएको बताएका छन्।
विहिबार पर्वतारोहण सम्बन्धि सरोकारवालासँगको अन्तरक्रिया तथा पूर्वतयारी छलफल कार्यक्रममा मन्त्री पाण्डेले पर्वतारोहणको इतिहास दस्तावेजबद्ध गर्ने र आन्तरिक–बाह्य चुनौतीको समाधानका लागि एकीकृत सुझावका आधारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
मन्त्री पाण्डेले जलवायु परिवर्तनको असरबाट हिमाल जोगाउन अन्तर्राष्ट्रिय सहकार्य जारी रहेको उल्लेख गर्दै भने, “हिमालकै कारण नेपाल चिनिन्छ, त्यसैले यसको संरक्षण हाम्रो दायित्व हो।”
उहाँले पर्यटन प्रहरीको सेवा, आरोहण संघको योगदान र विदेशी पाहुनासँगको व्यवहारबाट नेपालको छवि निर्माणमा महत्वपूर्ण भूमिका रहेको बताए।
क्यासिनोबारे समाजमा बनाइएका नकारात्मक धारणालाई तथ्यका आधारमा मूल्यांकन गर्नुपर्ने भन्दै मन्त्री पाण्डेले भने, “राम्रो र नराम्रो पक्ष छुट्याउनुपर्छ, विकृति–विसंगति हटाउनुपर्छ। अस्वस्थ प्रतिस्पर्धा र व्यक्तिगत स्वार्थले मुलुक बदनाम हुने घटना रोक्नुपर्छ।”
त्यस्तै, पर्यटन विभागका महानिर्देशक डा. नारायण रेग्मीले कर्णाली र सुदूरपश्चिम प्रदेशका ९७ वटा हिमाल आरोहणका लागि रोयल्टी छुट गरिएको जानकारी दिनुभयो। यसले मात्र हिमालको प्रचारप्रसार नभई उक्त क्षेत्रमा पर्यटनको ढोका पनि खोल्ने उहाँको दाबी छ।
कार्यक्रममा पर्वतारोहण सम्बन्धि तथ्य, तथ्यांक पुस्तकको विमोचन समेत गरिएको थियो। मन्त्री पाण्डेले सबै सरोकारवालासँग सहकार्य गरेर मात्र पर्वतारोहण र हिमाल संरक्षणको लक्ष्य पूरा गर्न सकिने स्पष्ट पार्नुभयो।
प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया