काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् र सांसदको अपमान गरेको आरोप लगाएकी छन्। बिहीबारको बैठकमा बोल्दै सांसद शर्माले प्रधानमन्त्रीको टिप्पणीप्रति आपत्ति जनाइन्।
सांसद शर्माले भनिन्, “यति धेरै तथ्य र आधारसहित हामी संसद्मा कुरा गर्दा प्रधानमन्त्रीले संसद् र सांसदलाई सामाजिक सञ्जालका कन्टेन्ट निर्माण गर्ने थलो भनेर अपमान गर्नुभयो। यसबारे म खेद व्यक्त गर्दछु। देशका प्रधानमन्त्रीले यति हल्का टिप्पणी गर्नु शोभनीय होइन।”
उनले प्रधानमन्त्रीले प्रस्तुत गरेका सरकारका १२ महिनाका उपलब्धि र विपक्षीमाथि गरिएको कटाक्षप्रति पनि प्रतिक्रिया दिँदै भने, “विगतका निरन्तरता र मिथ्याङ्क सुनेर अचम्म मान्नु, तर बहुविवाहसम्बन्धी कानुनलगायतका विषयमा झुठा अभिव्यक्ति दिनु साँच्चै अचम्मको कुरा हो।”
सांसद शर्माले मुलुकी अपराध संहिता २०७४ मा संशोधन गर्न बनेको विधेयकको बुँदा ३३, दफा १७५, उपदफा ५ पछि थपिएको खण्ड ‘क’को विषयमा पनि प्रधानमन्त्रीलाई गहिरो अध्ययन गर्न आग्रह गरे। उनले यस खण्डमार्फत बहुविवाहलाई वैधता दिने व्यवस्था गरिएको भन्दै त्यसको स्पष्ट व्याख्या गर्न सरकारलाई अनुरोध गरिन्।
प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार













प्रतिक्रिया