काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नेतृत्व तथा संगठन विस्तारमा नयाँ ऊर्जा भित्र्याएको छ। पार्टीले पूर्व उच्च सुरक्षा अधिकारी, सामाजिक अभियन्ता र अनुभवी व्यवसायीहरूलाई सदस्यता दिलाएको छ।

सशस्त्र प्रहरीका पूर्व डीआईजी दुर्गा भट्टराई, पूर्व एसएसपी विश्वेश्वर थापा, नेपाली सेनाका अवकाशप्राप्त कर्णेल डा. प्रद्युम्न पौडेल लगायतका व्यक्तित्वहरू हालै रास्वपामा प्रवेश गरेका छन्।

advertisement

बिहीबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा आयोजित पत्रकार भेटघाटमा प्रवक्ता मनिष झाले बताए अनुसार, उनीहरूको प्रवेशसँगै दैनिक करिब एक हजार नयाँ सदस्यले पार्टीमा नाम दर्ता गरिरहेका छन्। उनले भने, “सशस्त्र प्रहरीमा लामो समय सेवा दिइसक्नुभएका दुर्गा भट्टराईज्यूले आफ्नो अनुभव र नेटवर्कलाई देश र पार्टीको काममा उपयोग गर्न चाहनुभयो। उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीमा सदस्यता लिनुभएको छ।”

त्यस्तै, पूर्व वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्वेश्वर थापा र नेपाली सेनाका अवकाशप्राप्त कर्णेल डा. प्रद्युम्न पौडेलले पनि पार्टीमा प्रवेश गरेका छन्। डा. पौडेलले सेनाको जनसम्पर्क निर्देशनालयमा १८ वर्ष सेवा गरेका थिए र चीनबाट ‘सङ्कटको समयमा सञ्चार’ विषयमा पीएचडी गरेका छन्।

अन्तर्राष्ट्रिय लायन्स क्लबकी पूर्व गभर्नर तथा महिला उद्यमी शोभा जोशी र नेपाली कांग्रेसका पुराना कार्यकर्ता ललितबहादुर श्रेष्ठले पनि रास्वपामा प्रवेश गरेका छन्। श्रेष्ठले २०३९ सालदेखि कांग्रेसमा सक्रिय राजनीति गर्दै आएका थिए।

साथै, मिन्तिरा लामा पार्टीको केन्द्रीय जनसम्पर्क विभागको सदस्यमा मनोनयन भएकी छिन्।

प्रवक्ता झाका अनुसार, “हामीले दैनिक करिब एक हजार नयाँ सदस्य पाउँदा पार्टीप्रति जनतामा आकर्षण बढ्दो देखिन्छ। सबै सदस्य महत्वपूर्ण छन्, तर आज केही विशिष्ट व्यक्तित्वहरूलाई तपाईंहरूसँग साझा गरेका हौं।”

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com