काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्धो रूपमा विदेशीको नक्कल गर्ने प्रवृत्तिका कारण नेपालमा मौलिक विकास अघि बढ्न नसकेको टिप्पणी गरेका छन्। उनका अनुसार, यदि सिर्जनशील ढंगले उपलब्ध स्रोत र सम्भावनाको सदुपयोग गर्न सकिए, देशलाई आत्मनिर्भर बनाउन धेरै समय लाग्ने छैन।
भक्तपुरको चाँगुनारायणलाई ‘एभोकाडो सिटी’ का रूपमा विकास गर्ने अभियानको समापन समारोहलाई शुक्रबार सम्बोधन गर्दै प्रचण्डले, विदेशी मोडलको अनुकरण गर्नुको सट्टा आफ्नै स्रोत, साधन र सीपलाई प्राथमिकता दिएर अभियान अघि बढाउन सके मौलिक विकासको उत्कृष्ट नमुना नेपालमै निर्माण गर्न सकिने बताए।
“हाम्रो समाजमा विदेशीको नक्कल गर्ने प्रवृत्ति धेरै छ, जुन दुर्भाग्यपूर्ण हो,” उनले भने, “हाम्रो सिप, श्रम, स्रोत र साधनलाई हाम्रै तरिकाले परिचालन गर्ने अभियान चलाउन सक्यौं भने नेपाललाई मौलिक विकासको नमुनासहितको देशमा रूपान्तरण गर्न सकिन्छ। नेपाल त स्वभावैले सुन्दर छ, त्यसमा मौलिक मोडल थपिन सके अझै अनुपम बन्छ।”
गत साउन १ गते सुरु गरिएको अभियान अन्तर्गत चाँगुनारायण नगरपालिकाका प्रत्येक परिवारलाई दुईवटा एभोकाडोका बिरुवा निःशुल्क वितरण गरिएको थियो। अभियानका संयोजक नरेश खड्काका अनुसार, तीन वर्षसम्म निरन्तर सञ्चालन गर्ने लक्ष्यसहित यसलाई ‘एभोकाडो सिटी’ को पहिचान दिने योजना छ।
हाल नेपालमा धनकुटा जिल्लालाई ‘एभोकाडोको राजधानी’ का रूपमा चिनिन्छ।
प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया