काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सक्रिय प्रयोगकर्ता भएको बताएका छन्। शुक्रबार ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ मा आयोजित पावर संवाद सत्रमा बोल्दै उनले एआईलाई नियमित रूपमा प्रयोग गर्दै आएको र यसबाट निकै सहयोग पाइरहेको उल्लेख गरे।

“अहिले डिजिटल युगमा म पनि एआई प्रयोग गर्छु, च्याटजीपीटीलाई सोध्यो भने सबै कुरा भन्दिहाल्छ,” प्रधानमन्त्री ओलीले हाँस्दै भने, “तर, हुर्कँदै गरेका बालबालिकालाई भने अरु कुरा सिकाउनुपर्छ। म एआईको भरपुर उपयोग गर्छु तर बच्चाहरूलाई मोबाइलमा मात्र निर्भर हुन दिनु हुँदैन।”

advertisement

उनले विशेषगरी बालबालिकालाई मोबाइल गेमको मोहबाट जोगाउनुपर्नेमा जोड दिए। “मोबाइल यस्तो भएको छ, जे खोजे पनि पाइन्छ, त्यसैले यसको आकर्षण बढेको छ। तर, सानो उमेरमा बालबालिकालाई यसबाट बचाउनुपर्छ,” उनले स्पष्ट पारे, “मोबाइलमा गेम मात्र होइन, अरू पनि ज्ञानवर्धक कुरा छन्, त्यसतर्फ लगाउनुपर्छ।”

प्रधानमन्त्री ओलीले युवाहरूलाई प्रविधिको सकारात्मक प्रयोगतर्फ आकर्षित गर्न आवश्यक रहेको पनि बताए। “मैले त प्रयोग गरिरहेको छु भने युवाहरूले झन् गर्नुपर्छ। यस्ता राम्रा कुरा सिकाउनुपर्छ,” उनले भने।

आफू प्रविधि क्षेत्रमा विज्ञ नभए पनि एआई र सूचना–प्रविधि (आइसिटी) प्रवर्द्धनका लागि सरकारले नीति अघि सारेको प्रधानमन्त्री ओलीको भनाइ छ। “म टेक्निकल क्षेत्रको व्यक्ति होइन, एआई विज्ञ पनि होइन। तर, कसरी आइसिटी र एआईलाई अघि बढाउने भन्ने सोच राखेका छौं। हिजोमात्रै एआईसम्बन्धी नीति मन्त्रिपरिषद्बाट पारित गरेका छौं, यसमा अझ धेरै काम गर्न बाँकी छ,” उनले बताए।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com