काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक सञ्जाल अनिवार्य रूपमा दर्ता हुनुपर्ने बताएका छन्। ललितपुरमा आज आयोजित डिजिटल फ्रेमवर्क २०२५ कार्यक्रममा सम्बोधन गर्दै उनले, दर्ता नहुँदा नेपालमा सञ्चालित सामाजिक सञ्जालहरूमा सरकारले निगरानी बढाइरहेको बताए।
प्रधानमन्त्री ओलीका अनुसार, नेपालमा हुने सबै कारोबार नेपाली कानुनअनुसार हुनुपर्छ। मेटा जस्ता लोकप्रिय सामाजिक सञ्जालहरूलाई नेपालमा दर्ता हुन आह्वान गरिसकिएको भए पनि अहिलेसम्म ती दर्ता हुन नसकेको जानकारी दिएका छन्। लामो समयसम्म आग्रह गरिए पनि मेटा लगायतका प्लेटफर्महरूले अझै पनि अटेर गरिरहेको ओलीले बताए।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले पनि सरकारको तर्फबाट बारम्बार दर्ताका लागि आग्रह गरिरहेको बताए। प्रधानमन्त्री ओलीले भने, “नेपाल सरकार, नेपाली जनता र नेपाली कानुनप्रति सामाजिक सञ्जालहरू उत्तरदायी हुनैपर्छ। नेपालमा सञ्चालन हुने व्यवसायको कर तिर्ने जिम्मेवारी तिनीहरूलाई छ।”
उनले थप भने, “नेपालमा सञ्चालन हुने कम्पनीहरूले नेपालमा कार्यालय स्थापना गर्नुपर्छ र कानुनअनुसार दर्ता हुनुपर्छ। यदि कसैले दायित्व र जिम्मेवारी पूरा नगरेको पाइयो भने सरकारले ठोस कदम उठाउनेछ।”
साथै, प्रधानमन्त्री ओलीले देशभर इन्टरनेट सेवा पुर्याउन सञ्चार मन्त्रालयलाई आवश्यक निर्देशनसमेत दिएका छन्।
प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया