काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभरका स्थानीय तहका जनप्रतिनिधि र नागरिकलाई आफ्नो पालिकामा विकास र समृद्धिको सम्भावना पहिचान गर्दै उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धिका अभियान अघि बढाउन आह्वान गरेका छन्।
शुक्रबार चाँगुनारायण सिटी ‘एभोकाडो सिटी’ अभियानको तीन वर्षे कार्यक्रम समापन समारोहलाई सम्बोधन गर्दै उनले नागरिकको सक्रिय सहभागिताले पनि ठूला अभियान सफल बनाउन सकिने प्रमाण यस अभियानले दिएको बताए।
उनका अनुसार, राजनीतिक दलहरू, संघसंस्था र स्थानीय जनताबीचको सहकार्यमा सम्पन्न अभियानले राष्ट्रिय एकताको सन्देश दिएको छ। ‘हामीमा प्रायः तानातान र अस्वस्थ प्रतिस्पर्धा हुन्छ,’ उनले भने, ‘तर यो अभियान सबैको एकता र सहयोगको उत्कृष्ट उदाहरण बनेको छ।’
प्रचण्डले अन्य पालिकाहरूमा पनि आवश्यकताअनुसार सामाजिक र आर्थिक अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए। स्वास्थ्य, वातावरण, उत्पादन र आम्दानीका दृष्टिले एभोकाडो अभियान प्रभावकारी बनेको उल्लेख गर्दै उनले भने, ‘साधनस्रोत सीमित भए पनि जनस्तरमै जुटेर जनहितका कार्य गर्न सकिन्छ भन्ने यो सफल मिसाल हो। परिणाम रातारात आउँदैन, तर निरन्तरको सामूहिक प्रयासले समृद्धि सम्भव छ।’
विदेशी रोजगारीमा जान बाध्य युवालाई स्वदेशमै अवसर सिर्जना गरेर रोक्नुपर्ने भन्दै उनले राष्ट्रिय जागरणको आवश्यकता औंल्याए। ‘नेपाली इतिहास, प्रकृति, संस्कृति र परम्परागत सीपप्रति गर्व गर्ने, स्वदेशमै गर्न सकिन्छ भन्ने सोच फैलाउनुपर्छ,’ प्रचण्डले भने।
उनले पुँजीवादी अर्थतन्त्रको अन्धानुकरणले देश अघि नबढ्ने चेतावनी दिँदै आत्मनिर्भरतातर्फ लैजान स्थानीय तहको सक्रिय भूमिका र दबाब आवश्यक रहेको बताए। सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रामा आफू नेतृत्वको अघिल्लो सरकारले आत्मनिर्भर अर्थतन्त्रको बाटो देखाएको दाबी गर्दै उनले यस्तो अभियानलाई निरन्तर समर्थन र सहयोग गर्ने प्रतिबद्धता जनाए।
प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार













प्रतिक्रिया