जनकपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीलाई शासक होइन, जनताको सेवक भएर काम गर्न निर्देशन दिएका छन्।

शुक्रबार जनकपुरधाममा मधेस प्रदेश प्रहरी कार्यालयको नवनिर्मित भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रहरीले मुलुकमा सुशासन र शान्ति सुरक्षा कायम गर्न हाकिमको भूमिकामा नभइ जनताको सेवकको रूपमा काम गर्नुपर्नेमा जोड दिएका हुन्।

advertisement

प्रधानमन्त्री ओलीले भने, “पूर्वकालमा राणा शासन र पञ्चायती व्यवस्थामा झूटो आरोप लगाउने, यातना दिने प्रवृत्ति देखिन्थ्यो। आज केही तत्त्वहरूले मुलुकमा अराजकता फैलाउने प्रयास गर्दैछन् र आफूलाई नयाँ शक्ति भनेर जनतालाई भ्रमित पार्ने काम गरिरहेका छन्। यसबारे प्रहरी सतर्क रहोस्।”

उनले समाजमा अराजक फैलाउने तत्वहरूले लोकतन्त्रको विकासमा कुनै योगदान नरहेको र झुटो बोल्नेहरूलाई समाज तथा राष्ट्रले उचित सजाय दिनुपर्नेमा जोड दिएका छन्। प्रधानमन्त्री ओलीले भने, “जनताको बलिदान, तपस्या र संघर्षको कारण मुलुकमा लोकतन्त्र स्थापित भएको छ। त्यसको रक्षा र दिगोपनाका लागि सबै लोकतान्त्रिक शक्तिहरू जुट्नुपर्छ।”

प्रधानमन्त्री ओलीले नेपाल प्रहरीलाई आफ्नो योग्यता र दक्षताको माध्यमबाट जनतालाई इमान्दारीपूर्वक सुरक्षा तथा सेवा प्रदान गर्नुपर्ने, बढ्दो अपराध, चोरी, डकैती, लागुऔषध, सीमा अपराध र मानव ओसारपसार रोक्न गम्भीरतापूर्वक लाग्नुपर्ने पनि स्पष्ट पारे।

साथै, ओलीले वर्तमान सरकारले नेपाल कांग्रेस र एमालेको संयुक्त प्रयासबाट देशमा स्थिरता, शान्ति सुरक्षा र सुशासन सुनिश्चित गरेको र भ्रष्टाचार नियन्त्रण तथा छिटोछरितो सेवा दिन प्रहरीलाई जोड दिनुपर्ने बताए।

प्रधानमन्त्री ओलीले मधेस प्रदेश सरकारले निर्माण गरेको नयाँ प्रदेश प्रहरी भवनको उद्घाटन गर्नुका साथै भवनको निरीक्षण पनि गरेका थिए।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com