काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालनमा नरहेका आफ्ना मातहतका निजी विद्यालयहरूको अनुमति खारेज गर्ने प्रक्रिया अघि बढाएको छ।
कामपा शिक्षा विभागले स्थलगत अनुगमनमार्फत यस्ता विद्यालयहरू पहिचान गरी कानुनी प्रक्रिया पूरा गरेर खारेजी गर्ने तयारी गरेको जनाएको छ। वैकल्पिक विद्यालयका रूपमा महिला ज्योति, जायना र जेम्स नमूनालाई स्थानान्तरण अनुमति दिइएको उपप्रमुख सुनिता डंगोलले जानकारी दिइन्।
उनका अनुसार २५ विद्यालयलाई नाम परिवर्तनको स्वीकृति दिइएको छ। यस्तै सामुदायिक तथा संस्थागत विद्यालयहरूको कक्षा र विषय थप, नाम वा स्थान परिवर्तन, स्वामित्व हस्तान्तरण, सञ्चालनमा नरहेका विद्यालयहरूको खारेजी, वैकल्पिक विद्यालय स्थानान्तरणजस्ता विषयहरू शिक्षा समितिको छलफलमा रहेका छन्। रानीदेवी माध्यमिक विद्यालय, रानीबारीलाई २०८२ शैक्षिक सत्रदेखि कक्षा १० सञ्चालन गर्ने अनुमति दिइएको छ। साथै पशुपति मित्र, गीतामाता, जनकल्याण, जनपथ र नेपाल आदर्श माध्यमिक विद्यालयलाई कक्षा १२ मा सिभिल र कम्प्युटर इञ्जिनियरिङ विषय सञ्चालन गर्न अनुमति प्रदान गरिएको छ।
कामपाले संस्थागत विद्यालयका लागि थप १२ वटा विद्यालयमा नयाँ कक्षा र विषय सञ्चालनको अनुमति दिने तयारी गरेको छ। त्यस्तै, नाम परिवर्तनका लागि कागजात पेस गरेका २१ विद्यालयलाई स्वीकृति दिइएको छ। विद्यालय स्थानान्तरणका लागि आवश्यक मापदण्ड तयार गरी आगामी शिक्षा समितिको बैठकमा पेस गर्न शिक्षा तथा स्वास्थ्य समितिलाई जिम्मेवारी दिइएको छ।
त्यसैगरी, शिक्षा क्षेत्रमा आगामी वर्षको बजेट कार्यान्वयन, ‘बुक–फ्रि फ्राइडे’ कार्यक्रमको उपयोगिता, सान्दर्भिकता तथा आवश्यक परिमार्जनबारे प्रतिवेदन १५ दिनभित्र पेस गर्न समितिलाई तयारी गर्न लगाइएको छ।
सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्न डा. सुरजराज काफ्लेको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। उक्त कार्यदलले विद्यालय सञ्चालनका मापदण्ड, सामाजिक तथा स्रोत नक्साङ्कन, भौतिक संरचना, शिक्षा गुणस्तर र दीर्घकालीन योजना सम्बन्धी सुझावसहित प्रतिवेदन तयार गर्नेछ। साथै प्रारम्भिक बाल विकास कार्यक्रम र विधान दर्ता प्रक्रिया सुव्यवस्थित बनाउन शिक्षा विभागले छुट्टै अध्ययन अघि बढाउने जनाएको छ।
प्रकाशित मिति: ३१ श्रावण २०८२, शनिबार













प्रतिक्रिया