काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले भाइरल बनाउने नाममा फैलिने फेक न्युजलाई नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन्।

स्वास्थ्य पत्रकार मञ्च नेपालको दसौं स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै सभामुख घिमिरेले विशेषगरी जनस्वास्थ्यसँग सम्बन्धित समाचार लेख्दा अझ बढी गम्भीर हुनुपर्ने बताए।

advertisement

उनले तथ्यमा आधारित जनस्वास्थ्यका समाचारलाई सर्वसाधारणले बुझ्ने भाषामा प्रस्तुत गर्नु चुनौतीपूर्ण भए पनि स्वास्थ्य पत्रकारहरुले निरन्तर त्यसो गर्दै आएको बताए। “अबको प्रमुख चुनौती भनेकै एआईलगायत प्रविधिको दुरुपयोग र भाइरल बनाउने नाममा आउने फेक न्युज रोक्नु हो,” सभामुख घिमिरेले भने।

कार्यक्रममा स्वास्थ्य मन्त्री प्रदीप पौडेलले नेपालमा स्वास्थ्य पत्रकारिताको महत्व दिनानुदिन बढ्दै गएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन पत्रकारिताले योगदान दिन सक्ने बताए। उनले “गलत काम भए औँल्याउनुपर्ने र सही काम भए समर्थन गर्नुपर्ने”मा जोड दिए।

राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी विच्छाले स्वास्थ्य पत्रकारिताले स्वास्थ्य सुधारका लागि दबाब सिर्जना गर्दै आएको उल्लेख गर्दै मञ्च अझ सक्रिय हुनुपर्ने बताए। स्वास्थ्य सचिव डा. विकास देवकोटाले स्वास्थ्य पत्रकारहरुलाई “तेस्रो अंग” जस्तै महत्वपूर्ण भूमिका खेलिरहेको बताए।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालका प्रमुख डा. राजेश सम्भाजी राव पाण्डवले जनस्वास्थ्य सचेतनामा सञ्चारकर्मीको भूमिका निर्णायक हुने बताए। नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले बिट पत्रकारिताको विकाससँगै स्वास्थ्य पत्रकारिता सशक्त बनेको उल्लेख गरिन्।

कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष अनिल न्यौपानेसहित ११ संस्थापक सदस्यलाई सम्मान गरिएको थियो। साथै, स्वास्थ्य पत्रकार प्रवीण ढकाल र अनुसन्धानकर्ता श्रीमन शर्माद्वारा लिखित ‘स्वास्थ्य पत्रकारिता : कला र कौशल’ पुस्तकको सभामुख घिमिरे र मन्त्री पौडेलसहित विशिष्ट अतिथिहरुले संयुक्त रूपमा विमोचन गरे।

हर्ड इन्टरनेशनलले प्रकाशित पुस्तक १४७ पृष्ठको छ र २६ अध्याय समेटिएको छ।

प्रकाशित मिति: ३१ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com