काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई संकेत गर्दै नयाँ भनेर दाबी गर्ने दलहरूले देशमा अराजकता फैलाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।
शुक्रबार मधेस प्रदेश प्रहरी कार्यालयको प्रशासनिक भवन उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही शक्तिहरू जनतालाई भ्रममा पारेर अराजकता मच्चाउने प्रयासमा लागेको दाबी गरे। उनले भने, “नयाँ भन्नेहरूले जनता झुक्याइरहेका छन्। तर नयाँ त भर्खर खोलेका पार्टी मात्र होइनन्, योगदान गरेर देशलाई नयाँ बाटो देखाउनेहरू हुन्। योगदान नभएका दललाई देशप्रति माया हुँदैन।”
प्रधानमन्त्री ओलीले लामो संघर्ष, त्याग र बलिदानको परिणामस्वरूप वर्तमान लोकतान्त्रिक व्यवस्था स्थापित भएको स्मरण गराए। “यस यात्रामा कैयौँ सहिदहरूले प्राण गुमाए, धेरै अंगभंग भए, धेरैले जेलनेल र भूमिगत जीवन बिताए। ठूलो मूल्य चुकाएर मात्र देश आजको अवस्थामा पुगेको हो,” उनले भने।
उनका अनुसार, संघर्षबाट आएको व्यवस्थालाई माया गर्नेहरू नै यसलाई जोगाउन इच्छुक हुन्छन्, तर संघर्ष नगरेका र परिवर्तन अवरोध गर्नेहरूले लोकतन्त्र भत्काउने षड्यन्त्र गर्ने गर्छन्। “उनीहरू संसद्मा आएजस्तो देखाउँछन्, हाजिर गर्छन्, भत्ता लिन्छन्, तर बाहिर गएर व्यवस्थाविरुद्ध काम गर्छन्,” प्रधानमन्त्री ओलीको भनाइ थियो।
प्रधानमन्त्री ओलीले ती शक्तिहरूलाई यो व्यवस्था असह्य लागेपनि नेपाली जनताको बलिदान र संघर्षले ल्याएको प्रणालीलाई कसैले धराशायी बनाउन नसक्ने बताए। “यो व्यवस्था कायम रहन्छ, अझ सबल भएर अघि बढ्छ। यो नेपाली जनताको रगत, पसिना र संघर्षले प्राप्त भएको उपलब्धि हो,” उनले स्पष्ट पारे।
प्रकाशित मिति: ३१ श्रावण २०८२, शनिबार













प्रतिक्रिया