काठमाडाैं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नयाँ भनिएका दलहरूले देशमा अराजकता मच्चाउने प्रयास गरिरहेको आरोप लगाएका छन्।

मधेस प्रदेश प्रहरी कार्यालयको प्रशासनिक भवनको शुक्रबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले केही दलले आफूलाई “नयाँ शक्ति” भनेर प्रचार गर्दै आम जनतालाई भ्रममा पार्न खोजेको दाबी गरे।

advertisement

“नयाँ त भर्खर खोलिएका पार्टी हुन्, जसको कुनै योगदान छैन। योगदान नभएका दललाई देश र व्यवस्थाप्रति माया पनि हुँदैन,” प्रधानमन्त्री ओलीले भने।

उनले वर्तमान लोकतान्त्रिक व्यवस्थाको आधार लामो संघर्ष, बलिदान र सहिदको योगदान रहेको उल्लेख गर्दै त्यसलाई कमजोर पार्ने प्रयत्न असफल हुने बताए। “ठुलो क्षतिबाट लोकतन्त्र ल्याइएको हो, अन्धकार युगबाट आजको अवस्था आएको हो। जसले संघर्ष गरेर ल्याएको हो, उसलाई माया हुन्छ। तर जसले योगदान छैन, उसलाई यो व्यवस्था अप्रिय लाग्छ,” उनले भने।

ओलीले संसद्मा उपस्थिति जनाए पनि बाहिर गएर व्यवस्थाविरुद्ध गतिविधि गर्ने दललाई लक्षित गर्दै “उनीहरूले देशलाई बरबादीतर्फ लैजान खोजेका छन्” भने। उनले वर्तमान लोकतान्त्रिक व्यवस्था कायम रहने मात्र नभई अझ सुदृढ हुँदै अगाडि बढ्ने दाबीसमेत गरे।

प्रकाशित मिति: ३१ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com