काठमाडौं । अस्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट ग्राउण्डमा जारी ‘टप इन्ड टी–२०’ सिरिजअन्तर्गत नेपालले आज दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग प्रतिस्पर्धा गर्ने भएको छ। खेल दिउँसो २:१५ बजे सुरु हुने छ।
नेपाली टोलीको नेतृत्व रोहित पौडेलले गर्नेछन् भने बंगलादेश ए को कप्तानी नुरुल हसनले सम्हाल्नेछन्। दुवै टोली पहिलो खेलमा पराजित भएकाले दोस्रो खेलमा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिने तयारीमा छन्।
नेपाल पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने बंगलादेश ए पाकिस्तान शाहीन्ससँग ७९ रनले हारेको थियो। गत सिजन उपविजेता बनेको बंगलादेश ए मा अन्तर्राष्ट्रिय अनुभव बटुलेका तथा हालैको बंगलादेश प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी रहेका छन्।
२४ अगस्टसम्म चल्ने यस प्रतियोगितामा ११ टोलीले ३६ लिग खेल खेल्ने छन्। नेपालले आगामी खेलमा मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स, मेलबर्न रेनेगेड्स र पाकिस्तान शाहीन्ससँग प्रतिस्पर्धा गर्नेछ। यसपछि नेपाली टोलीले अस्ट्रेलियामै अर्को सिरिज पनि खेल्ने कार्यतालिका रहेको छ।
प्रकाशित मिति: ३१ श्रावण २०८२, शनिबार













प्रतिक्रिया