काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति शनिबार बसेको बैठक पाँच मिनेटमै टुंगिएको छ। बिहान साढे १० बजेका लागि सिंहदरबारमा बोलाइएको बैठक ११ बजेतिर मात्र सुरु भए पनि आवश्यक गणपूरक सङ्ख्या नपुग्दा करिब डेढ घण्टा ढिलो गरी प्रारम्भ भएको थियो।

बैठक सुरु भएलगत्तै समितिकी सभापति कुसुमदेवी थापाले भूमि सम्बन्धी सरकारले संशोधनसहित पेस गरेको प्रतिवेदन सदस्यहरूले अध्ययन गर्नुपर्ने भन्दै छलफल अघि नबढाउने निर्णय सुनाइन्। त्यसपछि बैठक पाँच मिनेटमै स्थगित भएको घोषणा गरियो।

advertisement

भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकबारे संसदमा आएका सुझावअनुसार भूमि मन्त्रालयले परिमार्जन गरी नयाँ मस्यौदा तयार पारेको थियो। तर सांसदहरूले पर्याप्त समय नपाएको भन्दै अध्ययनका लागि थप समय मागेका थिए।

बैठक स्थगित भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेस सांसद प्रतिमा गौतमले हिन्दुकुश सम्मेलनलगायत कारणले समय अभाव भएको भन्दै संशोधनकर्ताहरूसँग थप छलफल गर्नुपर्ने आवश्यकता रहेको बताइन्। नेकपा (एमाले) सांसद सरस्वती सुब्बाले भूमि सम्बन्धी विषय राजनीतिक रूपमा समेत संवेदनशील भएकाले गुणात्मक प्रतिवेदन तयार गर्न अध्ययन आवश्यक भएको टिप्पणी गरिन्।

त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले भूमिहीन दलित र सुकुम्वासीका लागि भन्दै ल्याइएका व्यवस्थामा गम्भीरता देखिएको छैन भन्दै आलोचना गरे। उनले सत्ता पक्षका सांसदहरूले आन्तरिक रूपमा गोप्य छलफल गरेर बैठक स्थगित गराएको आरोपसमेत लगाए।

शनिबारको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको प्रारम्भिक प्रतिवेदनलाई अन्तिम रूप दिने कार्यसूची तय गरिएको थियो। तर सांसदहरूको आग्रहअनुसार छलफल स्थगित गरिएको हो।

प्रकाशित मिति: ३१ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com