काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन संवाद गरेका छन्।

शनिबार बिहान अलास्कामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग तीन घण्टा लामो वार्ता गरेर वाशिङ्टन फर्किंदै गर्दा ट्रम्पले एयरफोर्स वानमै रहेर जेलेन्स्कीसँग फोनमा कुरा गरेका हुन्।

advertisement

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटका अनुसार ट्रम्पले जेलेन्स्की मात्र होइन, नेटो सदस्य युरोपेली नेताहरूसँग पनि विमानमैबाट संवाद गरेका थिए।

अमेरिकी सञ्‍चारमाध्यम सिएनएनका अनुसार ट्रम्पले जेलेन्स्कीलाई अलास्कामा पुटिनसँग भएको छलफलबारे जानकारी गराएका थिए। त्यसपछि उनले युरोपेली नेताहरूसँग पनि भेटवार्ताको प्रगति साझा गरेका थिए।

वार्तापछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सोमबार वाशिङ्टन डिसी पुगेर ट्रम्पसँग प्रत्यक्ष भेट्ने घोषणा गरेका छन्। ट्रम्पकै निमन्त्रणामा आफू वाशिङ्टन जान लागेको भन्दै उनले धन्यवादसमेत प्रकट गरेका छन्।

“सोमबार वाशिङ्टनमा राष्ट्रपति ट्रम्पसँग भेटेर युक्रेनमा जारी युद्ध अन्त्यका उपायबारे छलफल गर्नेछु। यो अवसरका लागि आभारी छु,” जेलेन्स्कीले भने। उनले युक्रेनमा शान्ति स्थापनाका लागि अधिकतम प्रयास गर्ने प्रतिबद्धता पनि दोहोर्‍याए।

जेलेन्स्कीले ट्रम्पले अलास्कामा पुटिनसँग भएको वार्ता, त्यसका एजेन्डा र अमेरिकाको भूमिकाबारे अवगत गराएको जानकारी दिए।

ट्रम्पको भनाइ – “बल अब जेलेन्स्कीको कोर्टमा”

अलास्काको वार्ता सकेपछि फक्स न्युजसँग कुरा गर्दै ट्रम्पले प्रारम्भिक प्रगति भए पनि अन्तिम सहमति भइनसकेको बताए।

“धेरै बुँदामा सहमति भएको छ। तर अन्तिम सम्झौता नभएसम्म केही निश्चित मानिँदैन। अब यो विषय जेलेन्स्कीको हातमा छ,” ट्रम्पले भने।

उनका अनुसार युरोपेली नेताहरू पनि संलग्न हुनु पर्ने भए पनि अन्ततः निर्णायक भूमिका जेलेन्स्कीकै हुनेछ। अर्को बैठकको तयारी भइरहेको भन्दै उनले आफू पनि सहभागी हुन सक्ने संकेत दिए।

पुटिनका चार अडान

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने युद्धविरामका लागि अडान परिवर्तन नगरेका छन्। पत्रकार सम्मेलनमा उनले युक्रेन युद्धलाई रूसको मौलिक सुरक्षा चुनौतीको रूपमा प्रस्तुत गर्दै आफ्ना मागहरू पुनः दोहोर्‍याए।

न्युयोर्क टाइम्सका अनुसार पुटिनका चार अडान यसप्रकार छन्:

  1. युक्रेनको ठूलो भूभाग रूसको नियन्त्रणमा जानु।

  2. युक्रेनले सेना संख्यामा कटौती गर्नु।

  3. युक्रेनलाई नेटोमा सामेल नगरिनु।

  4. युक्रेनमा सरकार परिवर्तन हुनु।

यी अडानलाई युक्रेन र पश्चिमी मुलुकहरूले अस्वीकार्य ठहराएका छन्।

यसैबीच, ट्रम्प–पुटिन वार्ता पछि युरोपेली नेताहरूले ट्रम्पसँग भर्चुअल संवाद गर्दै युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि आँच आउने कुनै पनि सम्झौता मान्य नहुने स्पष्ट गरेका थिए।

ट्रम्पले पनि भूमि सम्बन्धी निर्णय युक्रेनकै हातमा हुने प्रष्ट पारेका छन्।

प्रकाशित मिति: ३१ श्रावण २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com