काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालाले सत्तारूढ गठबन्धनभित्रै रहेका नेकपा एमालेप्रति तीव्र असन्तुष्टि प्रकट गरेका छन्।

शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले भूमि व्यवस्थासम्बन्धी विधेयकबारे कांग्रेस सांसदहरूले पेश गरेका संशोधन प्रस्तावलाई छलफलमै नल्याएको भन्दै आपत्ति जनाए। उनले आरोप लगाउँदै भने,’भूमिसम्बन्धी विधेयक आउँदा एमाले जहाँ खाली जग्गा देख्छ, त्यहीँ दाबी गर्न थाल्छ। गोकर्ण रिसोर्टदेखि राजा वीरेन्द्रको सम्पत्ति, पोखराको लिचीबारी र गिरीबन्धु टी–स्टेटसम्म एमालेकै नाम सुनिन्छ।’

उनका अनुसार संघीय मामिला मन्त्रीले पदबाट राजीनामा दिए पनि भूमिसुधार मन्त्री भने अझै जिद्दीपूर्वक पदमा टिकिरहेकाले समस्या झन् गम्भीर बनेको छ। कोइरालाले कास्की जिल्ला कमिटीले समेत भूमिसुधार मन्त्री हटाउनुपर्ने निष्कर्ष निकालिसकेको दाबी गर्दै, सत्ता संरचनाभित्र बिचौलियाहरू सक्रिय भएको आरोप लगाए। यस प्रसंगमा उनले रेशम चौधरी नेतृत्वको पार्टीसमेतलाई संकेत गरे।

त्यस्तै, संघीय निजामती ऐनमा रहेको ‘कुलिङ अफ पिरियड’ खारेज गर्ने प्रयास एमालेबाट भएको दाबी पनि उनले गरे। कोइरालाले भने,
‘यसमा कुनै रहस्य छैन। अघिसम्म हामीले चुपचाप बस्यौँ, तर अब भन्नैपर्छ। राष्ट्रिय सभामा एमालेका सांसदहरूले नै कुलिङ पिरियड हटाउन संशोधन प्रस्ताव दर्ता गरेका थिए। पत्रकारले प्रश्न गर्दा उनीहरूले ‘माथिल्लो निर्देशनअनुसार’ भनेर उम्कन खोजे, तर वास्तविकता छलकपटमै आधारित छ।’

उनका कडा टिप्पणीहरूले सत्तारूढ दलहरूबीचको सम्बन्ध थप तनावपूर्ण बन्न सक्ने अनुमान गरिएको छ।

प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com