काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले संसदलाई कर्मकाण्डी औपचारिकतावादवाट माथि उठाउनुपर्ने बताएका छन् । नेता पुनले संसदमा सांसदहरुले उठाएका विषयहरूको उचित सम्बोधन र सुनुवाइ भएमात्र संसद् बलियो हुने बताए ।
माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) काठमाडौं क्याम्पस जिल्ला समितिले आयोजना गरेको तीन दिने ‘संघीय नमुना युवा संसद अभ्यास’ कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले भने, “संसदमा उठाइने प्रत्येक प्रश्न र आवाजलाई कदर गर्ने संस्कृति विकास नभएसम्म संसद बलियो बन्न सक्दैन।”
पुनका अनुसार संसदमा बजेटबारे दिनौं छलफल भए पनि अन्ततः एक शब्दसमेत नफेरिकन पारित हुने परम्पराले सुधारिनुपर्नेछ। उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सांसदहरूले उठाएका मागअनुसार बजेटमा संशोधन गर्न सकिने प्रणाली ल्याउन खोजेको प्रसंग पनि स्मरण गरे।
कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले नमुना संसद अभ्यासले युवाको आकांक्षा, सपना र सम्भावनालाई उजागर गर्ने बताए। “सबल, कर्मठ र प्रतिस्पर्धी युवाले मात्र नयाँ युगको नेतृत्व गर्न सक्छन्,” उनले भने, “अबका नीति तथा कार्यक्रम युवालाई केन्द्रमा राखेर बनाउनुपर्छ।”
अखिल (क्रान्तिकारी) का अध्यक्ष विजयप्रकाश सापकोटाले संविधानमा नागरिकका मौलिक हकका रूपमा स्थापित शिक्षा, स्वास्थ्य र रोजगारीलाई व्यवहारमै सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा उपत्यकाभरिका विभिन्न कलेजका ८० जना युवा सहभागी भएको आयोजक समितिकी सचिव सुरक्षा पहारीले जानकारी दिइन्। अभ्यास सत्रलाई केन्द्रीय प्रशिक्षक तुलसीराम न्यौपाने र अविनास कार्कीले सहजीकरण गरिरहेका छन्।
प्रकाशित मिति: १ भाद्र २०८२, आइतबार













प्रतिक्रिया