डार्विन । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ।

सोमबार डार्विनमा भएको खेलमा नेपाल मेलवर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भयो। यसअघि नेपाल घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकर्स र बंगलादेश ‘ए’ सँग क्रमशः पहिलो र दोस्रो खेलमा पराजित भएको थियो।

advertisement

१७६ रनको लक्ष्य पछ्याउँदै नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन मात्र जोड्न सक्यो। नेपालका ओपनर कुशल भुर्तेलले १३ बलमा २५ रन बनाए भने भीम सार्की खाता खोल्दै आउट भए। त्यसपछि कप्तान रोहितकुमार पौडेल र आसिफ शेखले तेस्रो विकेटका लागि ८७ रनको साझेदारी गर्दै पारी सम्हाले। रोहित ३३ रनमा आउट भए भने आसिफले ४९ बलमा ५३ रनको अर्धशतकीय प्रहार गरे। तर, बीचको ओभरमा लगातार विकेट गुमाएपछि नेपाल लक्ष्य नजिक पुग्न सकेन।

बलिङतर्फ मेलवर्नका वारेन र अस्टिनले २–२ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको मेलवर्नले ७ विकेटको क्षतिमा १७५ रन बनाएको थियो। उसको लागि थोमस रोजर्सले ६५ र ब्लेक म्याकडोनाल्डले ७४ रनको योगदान दिए। नेपालका सन्दीप लामिछानेले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए भने सोमपाल कामी र साहब आलमले १–१ विकेट झारे।

यस सिरिजमा अस्ट्रेलियाका बिग ब्यास टोलीका एकेडेमीहरू, पाकिस्तान शाहिन्स र बंगलादेश ‘ए’ टोली सहभागी छन्। नेपालले अब बुधबार मेलवर्न रेनेगेड्स एकेडेमीसँग र शुक्रबार पाकिस्तान शाहिन्ससँग प्रतिस्पर्धा गर्नेछ।

आगामी अक्टोबरमा ओमानमा हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्रशान्त संयुक्त छनोट प्रतियोगिताको तयारी स्वरूप नेपाल हाल अस्ट्रेलियामा अभ्यासरत छ।

यस सिरिजपछि नेपालले थप एक साता अस्ट्रेलियामै तयारी गर्नेछ। क्यानका अनुसार नेपालले २६ अगस्टमा क्रिकेट एसिटीसँग दुई खेल र २८ अगस्टमा साउथ अस्ट्रेलियासँग दुई खेल खेल्नेछ। ३० अगस्टमा साउथ अस्ट्रेलियासँग एकदिवसीय खेल पनि तय भएको छ।

अस्ट्रेलियाबाट फर्किएपछि नेपालले सेप्टेम्बरमा युएईमा वेस्ट इन्डिजविरुद्ध तीन खेलको टी–२० सिरिज खेल्नेछ। आगामी छनोटमा नेपालसहित नौ टोली प्रतिस्पर्धा गर्नेछन् र शीर्ष तीन टोलीले २०२६ मा भारतमा हुने विश्वकपमा स्थान बनाउनेछन्।

प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com