काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमाना सिंह र शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलबीच आर्थिक वर्ष ०८२/८३ का लागि कार्यसम्पादन सम्झौता भएको छ।
सम्झौतापछि उपप्रधानमन्त्री सिंहले अघिल्लो वर्ष समयमा काम नसक्दा लक्ष्य अधुरै रहनु असन्तोषजनक भएको भन्दै नयाँ वर्षमा समयमै र प्रभावकारी ढंगले योजना पूरा गर्न निर्देशन दिए।
उनले भने, “कर्मचारीहरुले इमानदारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्नुपर्छ। गर्नुपर्ने निर्णय समयमा हुनुपर्छ। पन्छने प्रवृत्तिले काम रोक्छ। गर्नुपर्ने काम समयमा गर्नुहोस्, जनतालाई छिटो नतिजा दिनुपर्छ।”
सिंहले शहरी विकास मन्त्रालय नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने मन्त्रालय भएकाले योजनाको कार्यान्वयन छिटो परिणाम दिने खालको हुनुपर्नेमा जोड दिए। उनले अघिल्लो आवमा भएका कमजोरी दोहोरिन नदिने र चालू आवमा प्रभावकारी रुपमा काम गर्ने निर्देशन मन्त्रालयका सबै विभागीय प्रमुखलाई समेत दिए।
सचिव सिग्देलले गत वर्ष आर्थिक प्रगति अपेक्षाकृत कम भए पनि भौतिक प्रगति राम्रो भएको बताउँदै यस वर्ष भने तोकिएका कार्यलक्ष्य पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।
यसअघि उपप्रधानमन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि कार्यसम्पादन सम्झौता गरेका थिए।
प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार













प्रतिक्रिया