काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा सुशासन र पारदर्शिताको अभावका कारण नागरिकमा गम्भीर निराशा चुलिएको टिप्पणी गरेकी छन्।
सोमबार विराटनगरमा उद्घोष दैनिकको २१औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै भण्डारीले राज्यप्रति विश्वास कमजोर हुँदै गएको र असन्तोष बढ्दो अवस्थामा पुगेको बताइन्।
‘सुशासन र पारदर्शिताको अभावले जनता निराश भएका छन्,’ भण्डारीले भनिन्, ‘जबसम्म सुशासनलाई व्यवहारमा लागू गर्न सकिँदैन, तबसम्म विकास, न्याय र समानताको जनअपेक्षा पूरा हुने सम्भावना न्यून रहन्छ।’
उनले प्राकृतिक र सांस्कृतिक स्रोतले सम्पन्न भए पनि त्यसको सदुपयोग नहुँदा गरिबी, बेरोजगारी र व्यापार घाटा बढेको औंल्याइन्। कृषि प्रधान देश भएर पनि खाद्यान्नमा आत्मनिर्भर नहुनु ठूलो चुनौती भएको उनको भनाइ थियो।
भण्डारीले गुणस्तरीय शिक्षा र रोजगारीको खोजीमा युवाहरू विदेश पलायन बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै भनिन्, ‘ऊर्जाशील र दक्ष जनशक्तिको निरन्तर विदेश निर्गमनले उद्योग, स्वास्थ्य, शिक्षा र प्रविधिको विकासमा गम्भीर असर पर्छ।’
भ्रष्टाचारलाई नेपालको समग्र विकासमा प्रमुख चुनौतीका रूपमा चित्रण गर्दै उनले राजनीतिक अस्थिरता, आर्थिक असमानता र ग्रामीण–सहरी असन्तुलनले पनि दिगो विकासमा अवरोध पुर्याइरहेको बताइन्।
कार्यक्रमलगत्तै भण्डारी विराटनगरका वामपन्थी नेता लव प्रधानलाई भेट्न गएकी थिइन्। मंगलबार दिउँसो काठमाडौं फर्कने कार्यक्रम रहेको एमाले नेता विनोद ढकालले जानकारी दिए।
भण्डारी सहभागी कार्यक्रममा एमाले मोरङका नेताहरूको बाक्लो उपस्थिति देखिएको थियो भने संस्थापन पक्षका कार्यकर्ताको संख्यात्मक उपस्थिति न्यून रह्यो। कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की र राज्यमन्त्री सिर्जना राई पनि उपस्थित थिए।
प्रकाशित मिति: २ भाद्र २०८२, सोमबार













प्रतिक्रिया