कास्की ।  पोखरामा विश्व पर्यटन दिवसको सन्दर्भ पारेर आगामी असोज ४ गते खुला पर्वतीय दौड प्रतियोगिता हुने भएको छ । पोखराको राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धन गर्ने तथा खेलका माध्यमबाट खेल पर्यटन प्रवर्द्धनका लागि दौड प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आगामी असोज ४ गते खुला पर्वतीय दौड प्रतियोगिता आयोजना हुने जानकारी दिइएको हो । पोखरा–२२ स्थित विश्वशान्ति स्तूपबाट सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी निगालेडाँडामा अवस्थित कालाबाङ घरेडी बुद्ध पार्कमा पुगेर दौड समापन हुने आयोजक पोखरा क्लिका अध्यक्ष दीननाथ बरालले जानकारी दिए ।
उनका अनुसार आठ किमी पर्वतीय दौडमा खुला, वडास्तरीय, महिला, यु–१६, पर्यटन तथा ४० वर्ष माथिका भेट्टानतर्फको प्रोत्साहन गरी छ वटा ‘इभेन्ट’ समावेश गरिने छ । प्रतियोगितामा खुलातर्फ प्रथम हुने धावकले नगद रु ५० प्राप्त गर्नेछन् । द्वितीय, तृतीय, चौथो र पाँचौँ स्थानसम्मलाई क्रमशः रु ३० हजार, रु १५ हजार, रु सात हजार र रु तीन हजार वितरण गरिने अध्यक्ष बरालले बताए ।
वडास्तरीय, खुला महिला र यु–१६ तर्फका विजेतालाई जनही रु १५ हजार र उपविजेतालाई जनही रु सात हजारसहित मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ । उनका अनुसार प्रतियोगितामा यसवर्ष ४० वर्ष माथिका भेट्रान र विदेशी धावकलाई प्रोत्साहन पुरस्कारकोसमेत व्यवस्था गरिएको छ । भेट्रान र विदेशी इभेन्टका विजेतालाई जनही रु १५ हजारका दरले प्रोत्साहन पुरस्कार प्रदान दिइने छ ।
प्रतियोगिताका लागि अनलाइन आवेदन दर्ता खुला गरिएको प्रतियोगिता निर्देशक ओम लामाले बताए । भदौ २५ गतेसम्म धावकले अनलाइन फारममार्फत आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।

प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com