काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका लागि उनी युरोपका सात नेतासहित वासिङ्टन पुगेका हुन्।

यसअघि गत फेब्रुअरीमा ह्वाइट हाउसमा भएको जेलेन्स्की–ट्रम्प भेटवार्ता तिक्ततामा अन्त्य भएको थियो। त्यसबेला जेलेन्स्कीको अनौपचारिक पोशाकलाई लिएर ट्रम्प असन्तुष्ट भएका थिए। ‘ड्रेस कोड’लाई विशेष ध्यान दिने ट्रम्पले सार्वजनिक रूपमै उनको लुगा शैलीबारे हल्का घोचपेच गरेका थिए। त्यसपछि पत्रकार सम्मेलनमा एक अमेरिकी पत्रकारले समेत जेलेन्स्कीलाई ‘औपचारिक पोशाक नलगाएर अमेरिकी राष्ट्रपति कार्यालयको अपमान गरेको हो कि ?’ भनेर प्रश्न गरेका थिए। ट्रम्प प्रशासनले त्यसपछि उनको अन्य भेटवार्ता रद्द गरिदिएको थियो।

advertisement

युद्ध सुरू भएदेखि जेलेन्स्की सैनिक जस्तै बुट, खैरो वा हरियो रङको प्यान्ट, फूलबाहुला स्वेटर वा भेस्टमै देखिँदै आएका थिए। यो पोशाकलाई उनले युद्धरत देशका राष्ट्रपति र आफ्ना सैनिकहरूप्रति एक्यबद्धताको प्रतीक बनाएका थिए। अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनसँगको भेटदेखि लिएर विश्वका अन्य नेतासँगका बैठकमा पनि उनले कहिल्यै औपचारिक सुट लगाएका थिएनन्।

तर यसपटक भने ट्रम्पको चाहना अनुसार जेलेन्स्कीले सुट लगाएर ह्वाइट हाउस प्रवेश गरे। यद्यपि उनले परम्परागत टाइ भने लगाएनन्। कालो कोट, कालो प्यान्ट र कालो सर्टमा सजिएको उनको रूप ‘म अझै युद्धरत राष्ट्रको नेता हुँ’ भन्ने सन्देशसहित प्रस्तुत भएको देखिन्थ्यो।

बैठकपश्चात् भएको पत्रकार सम्मेलनमा पाँच महिना अघि उनलाई कठोर प्रश्न सोध्ने त्यही पत्रकारले यसपटक भने, “राष्ट्रपति जेलेन्स्की, तपाईं सुटमा निकै आकर्षक देखिनुभएको छ।” ट्रम्पले पनि खुसी व्यक्त गर्दै उनको पाखुरामा हल्का धाप मार्दै भने, “मैले पनि त्यही भनेको।”

जेलेन्स्कीले मुस्कुराउँदै पत्रकारतर्फ फर्केर भने, “मैले तिमीलाई सम्झेको छु।” पत्रकारले तुरुन्तै माफी मागे। त्यसैबीच जेलेन्स्कीले औंला देखाउँदै मजाकमा थपे, “हेर्नुहोस्, मैले फेरें, तर तपाईंले फेरेनौ।” कोठाभर हाँसो गुञ्जियो।

युद्धको बीचमा पनि आफ्नो पोशाकलाई प्रतीकात्मक बनाइराख्ने जेलेन्स्कीले यसअघि पोप फ्रान्सिसको दाहसंस्कार, बेलायती प्रधानमन्त्री केयर स्ट्रार्मरसँगको भेट र नेटो बैठकमा पनि यस्तै कालो सुट लगाइसकेका थिए।

यसरी, पोशाकमै विवाद सिर्जना भएको पाँच महिनापछि, जेलेन्स्की र ट्रम्पबीचको भेटवार्तामा यसपटक लुगा नै मेलमिलाप र हाँसोको कारण बनेको छ।

प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com