विराटनगर । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले) की वरिष्ठ नेतृ विद्यादेवी भण्डारी मंगलबार विराटनगरस्थित एमाले मोरङको पार्टी कार्यालयमा कार्यकर्तासँग भेटघाट गर्न लागेकी छिन्।
तर अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पक्षले भने पार्टीले कुनै औपचारिक कार्यक्रम नराखेको भन्दै कार्यकर्तालाई सहभागी नहुन निर्देशन दिएको छ। एमाले विराटनगर महानगर इन्चार्ज पर्शुराम बस्नेतले सामाजिक सञ्जालमार्फत “पार्टीले कुनै भेला आयोजना नगरेकाले भ्रममा नपर्नु” भन्ने चेतावनी सार्वजनिक गरेका छन्।
सोमबार विराटनगर आएकी भण्डारी आज दिउँसो १२ बजे पान्चालीस्थित पार्टी कार्यालय पुग्ने कार्यक्रम छ। मोरङ र विराटनगर महानगर कमिटीमा भण्डारी निकट नेताहरूको प्रभावशाली उपस्थिति रहेकाले भेटघाटलाई विशेष ध्यानका साथ हेरिएको छ।
भण्डारी पक्षका एक नेताले दाबी अनुसार, प्रदेश अध्यक्ष घनश्याम खतिवडा र मुख्यमन्त्री हिक्मत कार्कीसहितका नेताहरूले कार्यकर्तालाई फोन गरेर कार्यक्रममा नजान दबाब दिइरहेका छन्। “सत्ताको हैकम देखाएर कार्यकर्तालाई धम्क्याउने प्रयास भइरहेको छ। अग्रज नेतृ पार्टी कार्यालय आउँदा नजानु भन्ने दबाब त्रस्त मानसिकताको परिणाम मात्रै हो,” ती नेताले भने।
भण्डारीको कार्यक्रममा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहने दाबी भण्डारी पक्षले गरेको छ। उनी आजै दिउँसो १ बजे काठमाडौं फर्कने कार्यक्रम छ।
प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया