काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले सांसदहरूको हस्ताक्षर खाली कागजमा संकलन गरिएको सत्यता स्वीकार गरेका छन्। उनले यसलाई असामान्य होइन, बरु संसदीय अभ्यासमै लामो समयदेखि प्रचलित परम्परा भएको बताएका छन्।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले भने, “यो नयाँ कुरा होइन। २०४८ सालदेखि नै यस्तो अभ्यास हुँदै आएको हो। संसदीय व्यवस्था भएका अन्य देशहरूमा पनि आकस्मिक राजनीतिक परिस्थिति सम्भाल्न यस्ता हस्ताक्षर संकलन सामान्य मानिन्छ।”
उनका अनुसार सांसदहरू प्रायः विभिन्न कारणले काठमाडौँ बाहिर वा विदेशमा रहने भएकाले आकस्मिक प्रस्ताव दर्ता गर्नुपर्ने स्थिति आयो भने पूर्वतयारीका लागि हस्ताक्षर संकलन गरिन्छ। “उद्देश्य स्पष्ट छ—अपर्झट परिस्थितिमा प्रस्ताव अघि बढाउन सजिलो होस् भन्ने,” उनले स्पष्ट पारे।
हालै नेपाली कांग्रेस र एमाले दुवैले हस्ताक्षर संकलन अभियान चलाएको र त्यसलाई उपसभामुख हटाउने तयारीसँग जोडिएको प्रश्नमा भट्टराईले भने, “यो मिलेर गरिएको काम होइन। एउटै दिन परेको संयोग मात्रै हो।”
आजै सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा एमाले सांसदहरूले खाली कागजमा हस्ताक्षर गरेका थिए।
प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया