काठमाडाैं । काठमाडौंमा सुरु भएको १७औं ‘नाडा अटो शो’ को उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यशैलीप्रति असन्तुष्ट हुनुपर्ने कुनै कारण नरहेको बताएका छन्।
उद्घाटन समारोहमा उनले कर, मौद्रिक नीति तथा व्यवसायसँग सम्बन्धित अन्य नीतिहरू स्थिर र व्यवसायमैत्री भएकाले निराशा व्यक्त गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पारे। “सरकारले अवलम्बन गरेका नीतिहरू किसान, मजदुरदेखि उद्योगी–व्यवसायीसम्म सबैका लागि अनुमानयोग्य र सहयोगी छन्,” प्रधानमन्त्री ओलीले भने।
पूर्वाधार विकासलाई सरकारले प्रमुख प्राथमिकता दिएको उल्लेख गर्दै उनले पूर्व–पश्चिम राजमार्गलाई एसियन मापदण्डअनुसार स्तरोन्नति गर्ने काम अघि बढेको जानकारी दिए। त्यस्तै हुलाकी राजमार्ग लगभग सम्पन्न भएको, मध्यपहाडी र मदन भण्डारी राजमार्ग निर्माणाधीन रहेको तथा पूर्व–पश्चिम रेलमार्गको प्रारम्भिक खाका तयार भइसकेको बताए। हालै उद्घाटन गरिएको बेलीब्रिजमार्फत हुम्लाको सदरमुकाम सडक सञ्जालमा जोडिएको उल्लेख गर्दै उनले त्रिदेशीय सम्बन्ध विकास गर्ने दिशामा सरकार अघि बढिरहेको बताए।
प्रदर्शनीमा राखिएको ‘फ्लाइङ कार’ (उड्ने कार) अवलोकन गरेपछि प्रधानमन्त्री ओलीले प्रविधि र आविष्कारमा लाग्ने युवाहरूलाई सरकार सधैं सहयोग गर्न तयार रहने प्रतिबद्धता जनाए।
भृकुटीमण्डपमा आयोजना गरिएको अटो शो भदौ ८ गतेसम्म चल्नेछ। प्रदर्शनीमा विभिन्न ब्रान्डका नयाँ सवारी साधन, पुराना भिन्टेज कार तथा अत्याधुनिक प्रविधिहरू प्रदर्शित गरिएको आयोजकले जानकारी दिएका छन्।
प्रकाशित मिति: ३ भाद्र २०८२, मंगलबार













प्रतिक्रिया