वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रक्षा गर्न अमेरिकी सेना नपठाइने स्पष्ट गरेका छन्। मङ्गलबार फक्स न्युजको ‘फक्स एन्ड फ्रेन्ड्स’ कार्यक्रममा उनले भने, “तपाईंलाई मेरो आश्वासन छ, अमेरिकी सेना युक्रेनको सिमाना रक्षा गर्न जाँदैन, र म राष्ट्रपति हुँ।”

सोमबार ह्वाइट हाउसमा ट्रम्प, युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की र युरोपेली नेताबीच रूस–युक्रेन युद्ध अन्त्यका लागि लामो वार्ता भएको थियो। तर पत्रकारको प्रश्नमा ट्रम्पले जेलेन्स्कीले माग गरेको सुरक्षा ग्यारेन्टीका आधारमा अमेरिकी सेना पठाउने विषय अस्वीकार गरे।

advertisement

ट्रम्पले युक्रेनले क्रिमिया फिर्ता पाउने वा नाटोमा छिर्ने अपेक्षा ‘असम्भव’ रहेको दाबी गरे। “यी दुवै कुरा सम्भव छैनन्,” उनले भने।

गत हप्ता अलास्कामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि ट्रम्पले पुटिन युक्रेनका लागि सुरक्षा ग्यारेन्टीबारे ‘खुला’ रहेको बताएका थिए। तर मङ्गलबारको अन्तर्वार्तामा उनले अमेरिकी सेनालाई कुनै पनि शान्ति मिसनमा सहभागी नगरिने भन्दै आफ्नो अडान प्रष्ट पारे। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले पनि अमेरिकी सेना कुनै शान्ति मिसनमा संलग्न नहुने पुष्टि गरिन्।

पुटिनले डोनेट्स्क र लुहान्स्क क्षेत्रबाट युक्रेनी सेना फिर्ता लैजानुपर्ने र क्रिमियालाई रूसी भूभागका रूपमा मान्यता दिनुपर्ने दबाब दिइरहेका छन्। ट्रम्पले भने, पुटिन र जेलेन्स्कीबीच प्रत्यक्ष वार्ताका लागि पहल भइरहेको छ।

तर क्रेमलिनले पुटिन युक्रेनी नेतासँग प्रत्यक्ष भेट्न इच्छुक छन् कि छैनन् भन्नेबारे स्पष्ट संकेत दिएको छैन। यद्यपि ह्वाइट हाउसका अनुसार पुटिनले भेट्ने वाचा गरिसकेका छन्।

ट्रम्पले आवश्यक परे त्रिपक्षीय वार्ता हुने सम्भावना बताउँदै भने, “पहिले पुटिन–जेलेन्स्की प्रत्यक्ष आमनेसामने हुनुहुनेछ, त्यसपछि मात्र अन्य विकल्पबारे विचार हुनेछ।”

उनले आगामी दुई साताभित्र पुटिनको अडान स्पष्ट हुने विश्वास व्यक्त गर्दै भने, “मलाई लाग्छ पुटिन यस युद्धबाट थकित हुनुहुन्छ, सबै थकित छन्। के हुन्छ भन्ने छिट्टै थाहा पाइनेछ।”

प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com