काठमाडौं । प्रदर्शनमा रहेको कथानक फिल्म ‘सिटामोल’ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई ले हेरेका छन्। फिल्म हेर्दा आफू धेरैपटक भावुक भएको नेता भट्टराईले बताए। उनीसँगै पत्नी तथा पूर्वमन्त्री हिसिला यमी पनि उपस्थित थिइन्।
भट्टराईले फिल्मको प्रशंसा गर्दै भने, “पहिलोपटक यतिधेरै आँसु झरे। यसैबाट बुझ्न सकिन्छ, फिल्मको उत्कृष्टता कस्तो छ। मैले हेरेका फिल्ममध्ये यसलाई सर्वोत्कृष्ट मान्छु। मुख्य विषयवस्तु, कथानक, कलाकारको अभिनय, गीतसंगीतको प्रस्तुति सबै पक्षले सिनेमा उत्कृष्ट बनाएको छ। यस्तो सिनेमा विरलै बन्छ।”
फिल्मको उत्कृष्टता हुँदाहुँदै पनि नेपाली फिल्म विदेशीसँग प्रतिस्पर्धा गर्न नसकेको उनले बताए। “रिलिज हुँदा हलमा शो पाउन सकिँदैन। यी फिल्मलाई राज्यले सहुलियत दिन सक्छ—पूर्ण ट्याक्स फ्रि गर्ने, हलमा सुविधा दिने—तर यो नगर्नु दुःखद पक्ष हो,” उनले थपे।
भट्टराईले २०४८ सालदेखि नै फिल्मलाई समर्थन गर्नुपर्छ र बाह्य फिल्ममा निगरानी गर्नुपर्छ भन्ने आवाज उठाउँदै आएका रहेकाले यस फिल्मका निर्देशकलाई विशेष धन्यवाद दिएका छन्।
फिल्ममा माओवादी पूर्वलडाकुको कथा चित्रण गरिएको छ। भट्टराईले भने, “पूर्वलडाकुको बलले गणतन्त्र आयो, तर विभिन्न कारणले त्यसलाई समृद्धिका रूपमा अघि बढाउन सकिएन। तर हाम्रो पार्टीले हिम्मत नहारेको छ र नयाँ ढंगले अघि बढ्ने योजना बनाएको छ।”
फिल्ममा सौगात मल्ल र बेनिशा हमाल शीर्ष भूमिकामा छन् र हाल हलमा प्रदर्शन भइरहेको छ।
प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार












प्रतिक्रिया