काठमाडौं । कुवेतमा मृत्यु भएका चार जना नेपाली श्रमिकको शव काठमाडौँ ल्याइएको छ। नेपाली दूतावास कुवेतले चारवटै शव परिवारलाई सुपुर्द गरेको र अर्को एक जनाको शव बुधबार नेपाल पठाउने तयारी भइरहेको जनाएको छ।
नेपाली दूतावास कुवेतका श्रम सहकारी गिरीप्रसाद आचार्यका अनुसार, विषाक्त मदिरा सेवनका कारण गत हप्तामा १२ जना नेपालीको मृत्यु भएको थियो। मृत्यु भएका बाँकी श्रमिकको शव नेपाल पठाउने प्रक्रिया अझै चलिरहेको छ। हाल कुवेतका विभिन्न अस्पतालमा १५ जना बिरामी नेपाली उपचाररत छन्, जसमा १२ जना आईसीयूमा छन्।
कुवेतमा मदिरा प्रतिबन्धित भए पनि लुकीछिपी बिक्री हुने र त्यही मदिरा सेवन गर्दा नेपाली प्रभावित भएका हुन्। घटनामा केही नेपाली पक्राउ पनि परेका समाचारमा जनाइएको छ। यद्यपि दूतावासले थप विवरण सार्वजनिक नगर्ने जनाएको छ।
यस विषयमा आज प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कुवेतमा नेपाली कामदारको मृत्युबारे संसद्मा जानकारी गराउन आग्रह गरे।
हाल कुवेतमा करिब १ लाख ३० हजार नेपाली कामदार कार्यरत रहेका छन्।
प्रकाशित मिति: ४ भाद्र २०८२, बुधबार












प्रतिक्रिया