काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनभित्र कार्यरत जवानदेखि हवल्दारसम्मका कर्मचारीलाई ‘तल्लो दर्जा’ भनेर उल्लेख नगर्न निर्देशन दिएका छन्।

नक्सालमा आयोजित प्रथम महिला प्रहरी सम्मेलन–२०८२ उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री लेखकले प्रहरी संगठनको मूल आधार नै ती तहका कर्मचारी भएको स्पष्ट पार्दै भने, “सिपाही र हवल्दारलाई तल्लो दर्जा भन्ने होइन, किनभने संगठन यिनै दर्जामा उभिएको छ।”

advertisement

उनले अबको कानुनी संरचनामा समेत ‘तल्लो दर्जा’ भन्ने शब्द हटाई ‘आधारभूत दर्जा’ भन्ने शब्दावली प्रयोग गरिने बताए। निजामती कर्मचारीहरू डेस्कमा बसेर काम गर्ने भए पनि प्रहरीका आधारभूत दर्जाका कर्मचारी दिनको करिब १४ घण्टा उभिएरै सेवा गर्ने गरेको स्मरण गर्दै उनले भने, “उभिएर काम गर्ने सबै प्रहरीलाई आधारभूत दर्जा भनेर सम्बोधन गरिनुपर्छ।”

प्रहरी सम्बन्धी विधेयकमा आधारभूत दर्जाका प्रहरीलाई १६ वर्ष सेवा पश्चात् नै निवृत्तिभरण दिने प्रावधान राखिएको जानकारी दिंदै मन्त्री लेखकले सो व्यवस्था छिट्टै कानुनमा परिणत हुने विश्वास व्यक्त गरे। उनका अनुसार, राज्यव्यवस्था समितिको बैठक बस्न नसक्दा विधेयक अघि बढ्न ढिला भए पनि पारित भएपछि उक्त व्यवस्था लागू हुनेछ।

कार्यक्रममा मन्त्री लेखकले प्रहरी स्थापनाको ७४ वर्षपछि पहिलो पटक महिला प्रहरी सम्मेलन आयोजना हुनु ऐतिहासिक कदम भएको उल्लेख गर्दै आईजीपी दीपक थापालाई धन्यवाद दिए। उनका अनुसार, दोस्रो जनआन्दोलनपछि प्रहरी संगठनमा महिलाको सहभागिता उल्लेख्य रूपमा बढेको छ र हाल महिला प्रहरीको संख्या कुल जनशक्तिको करिब १२ प्रतिशत पुगेको छ।

महिला प्रहरीको क्षमता अभिवृद्धिमा अझै ध्यान दिनुपर्ने बताउँदै उनले समानता, सशक्तीकरण र सम्भावनाको खोजीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। “सम्भावनाका सबै क्षेत्रमा महिलाहरूलाई समेट्नुपर्छ,” गृहमन्त्री लेखकले भने।

प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com