काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपालको भूराजनीतिक संवेदनशील परिस्थितिबारे गम्भीर चिन्ता व्यक्त गर्दै प्रधानमन्त्रीलाई लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितका सीमा विवाद समाधानका लागि राष्ट्रिय सहमतिको वातावरण निर्माण गर्न आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत् आफ्नो सन्देशमा शाहीले देशको सार्वभौमिकता र भौगोलिक अखण्डता जोगाउन सम्पूर्ण नेपालीहरू एकजुट हुनुपर्नेमा जोड दिएका छन्। उनले भने, “हाम्रा पुर्खाहरूले आफ्नो रगत र पसिनाले जोगाएको यो देश आज विभिन्न चुनौतीमा फसेको देख्दा चिन्ता बढेको छ। अङ्ग्रेज, मुगल र तिब्बतसँग लडेर जोगाएको नेपालको सिमाना हाम्रो गौरवको विषय हो।”
शाहीले हालै नेपालको अनुमति बिना नै लिपुलेक र लिम्पियाधुरालाई समेटेर चीन र भारतबीच भएको समझदारीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसले राष्ट्रिय अखण्डतामाथि प्रश्न खडा गरेको बताएका छन्। उनका अनुसार, “यो संवेदनशील अवस्थामा सम्पूर्ण नेपालीहरू एकजुट हुन अपरिहार्य छ। राष्ट्रियताको सवालमा कुनै पनि सम्झौता स्वीकार्य हुन सक्दैन।”
उनी प्रधानमन्त्रीसँग तत्काल पहल गर्न र सबै राजनीतिक दल, नागरिक समाज, विभिन्न सङ्घसंस्थाहरू र आम नेपालीहरूलाई एकताबद्ध गर्दै राष्ट्रिय सहमतिको वातावरण सिर्जना गर्न हार्दिक अनुरोध गरेका छन्।
अन्ततः शाहीले भने, “राष्ट्रिय एकता र सहकार्यबाट मात्र हामीले हाम्रो सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्न सक्छौँ। यसका लागि सम्पूर्ण नेपाली एक भएर अघि बढ्न तयार छौँ।” उनको यो सन्देशले देशको सीमा सुरक्षा र राष्ट्रियताको विषयमा सबै पक्षबीच साझा धारणा बनाउन आवश्यकताको महत्वलाई प्रकाश पारेको छ।
प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया