काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले लिपुलेक र कालापानी क्षेत्रमा छिमेकी देशले प्रयोग गरिरहेको भन्ने समाचारप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राष्ट्रिय स्वाभिमान र भूभाग संरक्षणजस्ता संवेदनशील विषयमा सरकार गम्भीर हुनुपर्ने बताए। संविधानको रक्षा गर्नुको सट्टा सरकारले उल्टै त्यसको अपमान गरिरहेको आरोप पनि उनले लगाए।
सांसद नेपालीले भने, “लिपुलेक र कालापानी नेपालको भूभाग हो। त्यसको रक्षा गर्न सरकारले तात्कालिक पहल गर्नुपर्छ। तर संविधान र सार्वभौमिकताको रक्षा गर्ने दायित्व पूरा गर्न सरकार चुकेको छ।”
उनले सरकारलाई भ्रष्टाचार नियन्त्रण, जनताको जीवनस्तर सुधार र मानव तस्करी रोकथाममा असफल भएको आरोपसमेत लगाए। “मानव तस्करीजस्तो गम्भीर विषय उठ्दा ठूला दल मौन बस्छन्, भ्रष्टाचारबारे प्रश्न गर्दा आत्तिन्छन्। उल्टै वैकल्पिक शक्तिलाई कमजोर बनाउने खेल चलाइन्छ,” उनले भने।
नेपालीले उपसभामुखमाथि अंकगणितीय खेल खेलिएको भन्दै त्यसलाई लोकतन्त्रको अपमानका रूपमा चित्रण गरे। उनले भने, “रवि लामिछानेमाथि अन्याय गरिएपछि अब आदिवासी जनजातिकी छोरी उपसभामुखलाई समेत राजनीतिक खेलमा तानिएको छ। योभन्दा ठूलो लोकतन्त्रको अपमान के हुनसक्छ?”
भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिन नभएसम्म आन्दोलन जारी रहने चेतावनीसमेत सांसद नेपालीले संसद्मै दिए।
प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया