काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जनताको बहुदलीय जनवाद (जबज) शान्त तलाउमा डुङ्गा चलाएझैं सरल र सहज मार्गमा अघि बढेको नभई चुनौतीपूर्ण परिस्थितिसँग लड्दै स्थापित भएको विचार भएको बताएका छन्।

बिहीबार मदन भण्डारीको ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै नेता पोखरेलले जबजको विचार सधैं प्रतिकूलता र कठिनाइसँग जुध्दै अघि बढेको उल्लेख गरे। उनले भने, “कतिपयलाई लाग्न सक्छ– जबज शान्त तलाउमा बग्दै आएको हो। तर यो विचार आँधी-तुफानसँग लड्दै, कठिन परिस्थितिलाई पराजित गर्दै स्थापित भएको हो, जसमा मदन भण्डारीले अग्रसरता देखाउनु भएको थियो।”

advertisement

पोखरेलले जबजको प्रारम्भिक चरणमा विभिन्न प्रश्न र आलोचना उठाइएका भए पनि त्यसलाई सामना गर्दै अघि बढ्नुपरेको बताए। “जबजको विचार अघि सार्दा मदन भण्डारीमाथि चौतर्फी प्रहार भयो। पछिल्ला दिनमा पनि पार्टी भित्रैबाट आलोचना र कटाक्ष हुँदै आएको छ, यहाँसम्म कि आफूलाई जानकार मान्नेहरूले पनि कटाक्ष गरेका छन्,” उनले भने।

नेता पोखरेलले जबजलाई पार्टीहरूको जीवनमा लोकतान्त्रिक करणको माध्यम र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको आधारभूत विचारको रूपमा व्याख्या गरे। “नेपालको कम्युनिस्ट आन्दोलनको सकारात्मक धरातल र अन्तर्राष्ट्रिय कम्युनिस्ट दर्शनको आधारमा जबज स्थापित भएको हो, यसलाई चटके वा मौसमी विचारको रूपमा होइन,” उनले जोड दिए।

साथै, पोखरेलले मदन भण्डारी फाउन्डेसनले गठन गरेको कार्यालयले आगामी दिनमा मदन भण्डारीको योगदानलाई आम नेपाली र विश्वमञ्चमा पु-याउने उद्देश्यमा काम गर्ने विश्वास व्यक्त गरे। उनले भने, “झट्ट हेर्दा सानो देखिने यो कार्यालय महत्वको हिसाबले ठूलो कार्यक्रम हो। जबजको पक्षमा उभिँदा चुनौतीहरूको हेक्का राख्न नत्र दुर्घटना हुन सक्छ।”

प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com