काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस–एमाले गठबन्धन सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रम र सहमतिको आधारबाटै विचलन भएको आरोप लगाएका छन्।
संसदमा बोल्दै उनले गठबन्धनको मेरुदण्डका रूपमा रहेको सात बुँदे सहमतिको प्रमुख मुद्दाहरू नै कार्यान्वयनविहीन बनेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे।
महामन्त्री थापाले संविधान संशोधनलाई पहिलो प्राथमिकतामा राखिएको सम्झौताको प्रसंग उठाउँदै भने, “राजनीतिक स्थायित्वका लागि संविधान संशोधन गर्ने भनेर सहमति गरेका थियौँ, तर अहिलेसम्म सिन्को पनि भाँचिएको छैन।”
उनले राष्ट्रिय सभामा बहुमत पुगेपछि मात्र अघि बढ्छौं भन्ने बहानामा टार्न नमिल्ने स्पष्ट पार्दै तत्काल प्रमुख प्रतिपक्षीसहितको संयन्त्र बनाएर काम थाल्न सरकारलाई आग्रह गरे।
त्यस्तै, आर्थिक सुधारका एजेन्डामा पनि सरकारले दिशा हराएको उनको आरोप थियो। थापाले भने, “सुरुवाती समयमा २९ वटा कानुन संशोधन गरेर जुन ऊर्जा देखायौँ, त्यो कहाँ हरायो ? सार्वजनिक खरिद ऐन, पूर्वाधार र कर प्रणाली सुधार्ने प्रतिवद्धता कहाँ गयो ? रामेश्वर खनाल नेतृत्वको आयोगले ४०८ सिफारिस गरेको प्रतिवेदनमध्ये ८० प्रतिशत काम त सुरु नै भएको छैन।”
उनले सरकार बनेको प्रारम्भिक तीन–चार महिनाको जोश र गति पुनः फर्काउन सके अझै धेरै सुधार र उपलब्धि हासिल गर्न सकिने उल्लेख गर्दै, अहिले भने सरकार आफ्नै मुख्य प्राथमिकता र दिशाबाट च्युत भएको टिप्पणी गरे।
प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार












प्रतिक्रिया