पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले मजदुर वर्गका मूलभूत समस्या समाजवादी राज्य व्यवस्थामार्फत मात्रै समाधान हुन सक्ने बताएका छन्।

अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकी प्रदेश समितिले बिहीबार पोखरामा आयोजना गरेको वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले सहमति र सम्झौताबाट आएको वर्तमान व्यवस्थाले मजदुरलाई सम्पूर्ण अधिकार सुनिश्चित गर्न नसकेको बताए।

advertisement

अध्यक्ष दाहालले भने, “मजदुर तथा उत्पीडित वर्गका सबै समस्या समाजवादमै समाधान हुन्छ। त्यसका लागि समाजवादी क्रान्तिको तयारी अब गम्भीरतापूर्वक थाल्नुपर्छ।”

उनले समाजवादी शक्तिबीचको एकतालाई अपरिहार्य बताउँदै, आगामी निर्वाचनमा साझा रणनीति सहित एकजुट भएर समाजवादी आन्दोलनलाई नयाँ ढंगले अघि बढाउनुपर्नेमा जोड दिए। “नेपाली मौलिकता र नेपाली नेतृत्वमा समाजवादी क्रान्तिको रणनीति अघि बढाउनु हाम्रो उद्देश्य हो,” दाहालको भनाइ थियो।

पूर्वप्रधानमन्त्री दाहालले विगतका उपलब्धिलाई उल्ट्याउने षड्यन्त्र हुन सक्ने चेतावनी दिँदै त्यसविरुद्ध नेताकार्यकर्ताले उच्च मनोबल, वैचारिक स्पष्टता र एकताको बलमा सामना गर्नुपर्नेमा जोड दिए।

पार्टीभित्र गुटबन्दी र स्वार्थसमूहलाई अब सहन नसकिने भन्दै उनले भने, “पार्टीको नीति, नियम र अनुशासन उल्लंघन गर्नेप्रति कडा कारबाही हुनेछ। स्थायी समितिको निर्णयअनुसार कसैलाई नछुटाइ कडाइका साथ अघि बढिन्छ।”

उनले आसन्न केन्द्रीय समिति बैठकपछि गाउँ–गाउँमा संगठन निर्माण र विस्तारको जिम्मेवारी नेतालाई तोक्ने जानकारी पनि दिए।

कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका फ्याक्सन इन्चार्ज रामदीप आचार्य, गण्डकी संयोजक रुद्र गौतमलगायत नेताहरूले पनि राजनीतिक परिवर्तनमा मजदुरको योगदानबारे धारणा व्यक्त गरेका थिए।

प्रकाशित मिति: ५ भाद्र २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com