काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकको राजनीतिक मात्र होइन, सामाजिक अवस्था पनि दिन प्रतिदिन अधोगतितर्फ उन्मुख भइरहेको टिप्पणी गरेका छन् । उनका अनुसार यस चुनौतीपूर्ण परिस्थितिबाट देशलाई माथि उठाउन सबै पक्षले सकारात्मक सोचसहित अघि बढ्नु अपरिहार्य छ ।

शुक्रबार काठमाडौंमा आयोजित ज्ञानज्योति महिला माध्यामिक विद्यालयको २०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले विद्यालय, राजनीतिक नेतृत्व र कर्मचारी सबैले आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याए ।

advertisement

उनले भने, “देशको राजनीतिक मात्र होइन, सामाजिक अवस्था पनि क्रमशः खस्कँदो छ । यसलाई उकास्ने जिम्मा विद्यालयले पनि लिनुपर्छ, राजनीतिज्ञ र कर्मचारीहरूले पनि लिनुपर्छ । सकारात्मक सोचसहित अघि बढ्ने हो भने मुलुकलाई अगाडि लैजान सकिन्छ ।”

कोइरालाले लोकतन्त्रमा शिक्षालाई मेरुदण्डका रूपमा व्याख्या गर्दै शिक्षित समाजले मात्र सभ्य राष्ट्र निर्माण गर्न सक्ने धारणा राखे । उनले भने, “लोकतन्त्रमा शिक्षा सबैभन्दा महत्वपूर्ण कुरा हो । घरमा एक महिला शिक्षित भए परिवार नै शिक्षित हुन्छ । शिक्षाले नै सभ्यता दिन्छ र राष्ट्रलाई उन्नत बनाउन मद्दत पुर्‍याउँछ ।”

उनले नियम, ऐन र कानून निर्माण गर्ने निकायदेखि सरकारी नेतृत्व र सञ्चारमाध्यमसम्म कतै न कतै चुकेको स्वीकार गर्दै सार्वजनिक विद्यालयलाई सशक्त बनाउन सबैले अग्रसर हुनुपर्नेमा जोड दिए ।

“शिक्षाले मात्र राष्ट्रलाई विश्वसामु चिनाउन सक्छ । त्यसैले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ,” नेता कोइरालाको भनाइ थियो ।

प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com