काठमाडौं ।  नेकपा (एमाले) का सांसद गोपाल भट्टराईले भारत र चीनबीच कालापानी क्षेत्रमा भएको सीमा व्यापार सम्झौताप्रति गम्भीर आपत्ति जनाउँदै नेपालले दृढतापूर्वक प्रतिवाद गर्नुपर्ने बताएका छन्।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै भट्टराईले दुई ठूला छिमेकी देशहरूले साना देशहरूलाई हेप्ने प्रवृत्तिविरुद्ध नेपालले अडिग र निर्णायक रूपमा उभिनुपर्नेमा जोड दिए।

advertisement

सांसद भट्टराईले उक्त सीमा व्यापार सम्झौताले नेपालको सार्वभौमिकता र भू-स्वामित्वमा चोट पुर्‍याएको भन्दै सरकारलाई कूटनीतिक माध्यमबाट तत्काल समाधान खोज्न आग्रह गरे। उनले पश्चिम नेपालको भूभागमा काली नदीलाई सिमा मान्दै गरिएका पुराना सन्धि र सम्झौता अझै कायम रहेको स्मरण गराउँदै, भारतले ती सम्झौताको कार्यान्वयनमा बारम्बार अवरोध र हस्तक्षेप गरेको आरोप लगाए।

भट्टराईले भने, “नेपालको भूभाग पश्चिममा काली नदीलाई आधार मानेर भएका सन्धि र सम्झौता अहिले पनि मान्य छन्। तर भारतले समय–समयमा हस्तक्षेप गर्दै अवरोध सिर्जना गरेको छ। हामीले नेपालको नक्सामा लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेपछि भारतले पनि आफ्नो नक्सामा समेटेको छ। प्रधानमन्त्रीको भ्रमणको अवसरमा यस विषयलाई जोडदार ढंगले उठाएर समाधानको बाटोमा लैजानुपर्छ।”

उनले ऐतिहासिक सन्धि, सम्झौता र दस्तावेजहरूको आधारमा महाकाली क्षेत्रमा पर्ने लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूभाग नै भएको स्पष्ट पारे।

प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com