काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले शिक्षा क्षेत्रमा जिम्मेवार व्यक्तिहरूले अपेक्षित सुधार गर्न नसकेकोमा चिन्ता व्यक्त गरेका छन्।
आज पोखरामा आयोजित ज्ञानज्योति महिला माध्यमिक विद्यालयको २०औँ वार्षिकोत्सव तथा नमूना सामुदायिक सिकाइ केन्द्रको वार्षिक साधारणसभामा सम्बोधन गर्दै नेता डा. कोइरालाले नेपालको उज्जवल भविष्य शिक्षासँग प्रत्यक्ष रूपमा जोडिएको भए पनि नीति निर्माण तहमा बसेकाले अझै व्यावहारिक कदम नचालेको बताए।
डा. कोइरालाले विद्यालयलाई केवल शिक्षण संस्था मात्र नभई समुदायको गौरव र सामाजिक विकासको केन्द्र बनाउन आवश्यक रहेकोमा जोड दिए। उनले भने, “हामी नेपालीमा अपार क्षमता छ, तर त्यसलाई पूर्ण रूपमा उजागर गर्न सकेका छैनौँ। शिक्षकलाई सबल र सक्षम बनाउन सकिएन भने राष्ट्रलाई सबल बनाउन सम्भव छैन। शिक्षकलाई उचित तलब, सुविधा र सम्मान नदिँदा गुणस्तरीय शिक्षा दिन सकिँदैन।”
उनीसहित शिक्षा क्षेत्रलाई राष्ट्रको समृद्धिको आधार मानेर शिक्षा नीतिलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउँदै डा. कोइरालाले भने, “शिक्षा सुधारको जिम्मेवारी केवल सरकारको मात्र होइन, समाज र समुदायको पनि हो। यसलाई राजनीति वा व्यक्तिगत स्वार्थको खेल बन्न दिनु हुँदैन।”
उनले समुदाय र स्थानीय तहलाई विद्यालय सुधारमा सक्रिय भाग लिन र शिक्षक तथा विद्यार्थीहरूको हितलाई सुनिश्चित गर्न आग्रह गरे।
प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया