काठमाडौं । इजरायलका रक्षामन्त्री इजरायल काट्जले हमासले तत्काल हतियार नबिसाए र बन्धकहरूलाई मुक्त नगरे गाजा शहरलाई राफा र बेत हनूनसरह खण्डहर बनाइने चेतावनी दिएका छन् ।
उनको भनाइ इजरायली मन्त्रिपरिषद्ले गाजामा पूर्ण नियन्त्रण लिन आक्रमणलाई अनुमति दिएको केही दिनमै सार्वजनिक भएको हो । अन्तर्राष्ट्रिय दबाब र आन्तरिक विरोध बढिरहेका बेला पनि इजरायलले आक्रमण तीव्र बनाउने निर्णय गरेको हो ।
यसअघि कतार र इजिप्टको मध्यस्थतामा भएको छलफलमा हमासले ६० दिनको युद्धविराम प्रस्ताव स्वीकार्दै बाँकी बन्धकमध्ये आधा रिहा गर्ने सहमति जनाएको थियो । तर, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बन्धकहरू मुक्त गर्ने र इजरायलका स्वीकार्य शर्तहरू पुरा भए मात्र युद्ध अन्त्यबारे वार्ता सम्भव हुने बताएका थिए ।
रक्षामन्त्री काट्जले भने, “यदि हमास सहमत भएन भने गाजा शहर पनि राफा र बेत हनूनजस्तै भग्नावशेषमा परिणत हुनेछ,” भन्दै अन्तिम चेतावनी दिएका छन् ।
इजरायली सैन्य आक्रमणका कारण राफा र बेत हनून पहिले नै पूर्ण रूपमा ध्वस्त भइसकेका छन् । गत महिना प्रधानमन्त्री नेतन्याहूले युद्धविराम र बन्धक रिहाइका प्रयास असफल भएपछि गाजामा आक्रमण थप चर्काउने र सम्पूर्ण नियन्त्रणमा लिने घोषणा गरेका थिए ।
प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार













प्रतिक्रिया