काठमाडौं । गृहमन्त्री रमेश लेखकले २०५२ सालदेखि २०८२ असारसम्म माइन र विष्फोटका घटनामा परी प्रहरी तथा सर्वसाधारण गरी ६५१ जनाले ज्यान गुमाएको जानकारी दिएका छन्।

राष्ट्रिय सभामा सांसद मदनकुमार साहको जिज्ञासामा जवाफ दिँदै मन्त्री लेखकले सो अवधिमा २ हजार ८९९ जना घाइते भएको तथ्यांक प्रस्तुत गरेका हुन्। उनले द्वन्द्वकालीन घटनामा ज्यान गुमाउनेका हकदारलाई सरकारले जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराएको उल्लेख गरे।

advertisement

मन्त्री लेखकका अनुसार घाइते तथा शहीदका सन्तानलाई वार्षिक छात्रवृत्ति दिइँदै आएको छ। त्यस्तै, टुहुरा बालबालिकालाई १८ वर्ष पूरा नहुन्जेलसम्म मासिक ५ हजार रुपैयाँ भत्ता दिने व्यवस्था गरिएको छ। घाइते अपांगहरूलाई भने शारीरिक क्षतिका प्रतिशतअनुसार मासिक जीवन निर्वाह भत्ता जिल्ला प्रशासन कार्यालयमार्फत प्रदान हुँदै आएको छ।

उनले थपे, “माइन तथा विष्फोटनमा परी ६५१ जनाको मृत्यु र २ हजार ८९९ जना घाइते भएका छन्। मृतकका परिवारलाई राहत, घाइते तथा शहीद सन्तानलाई छात्रवृत्ति, टुहुरा बालबालिकालाई मासिक भत्ता र अपांग घाइतेलाई जीवन निर्वाह भत्ता उपलब्ध गराइएको छ। साथै उपचार खर्च, राहत तथा आर्थिक सहायता प्रदान गर्ने विषय परिपूरणसम्बन्धी मापदण्ड, २०७९ अनुसार नेपाल सरकारको निर्णयअनुसार हुने गरेको छ।”

गृहमन्त्री लेखकले द्वन्द्वकालीन पीडितका लागि सरकारबाट थप परिपूरक राहत र सहायतासम्बन्धी व्यवस्था पनि क्रमशः कार्यान्वयन हुँदै जाने बताए।

प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com