काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले भारत र चीनले नेपालकै सहमति विना नेपाली भूमि प्रयोग गर्ने कुनै पनि प्रयास अस्वीकार्य हुने चेतावनी दिएका छन् ।

दाङको घोराहीमा शुक्रबार प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र स्पष्ट रूपमा नेपालकै भूमि भएको उल्लेख गर्दै नेपालले आफ्ना तथ्य र प्रमाणसहित कूटनीतिक स्तरमा निरन्तर अडान राख्दै आएको बताए ।

advertisement

महासचिव पोखरेलले भने, “दुई छिमेकी राष्ट्रले नेपालकै सहमतिबिना सीमा क्षेत्रमा गतिविधि गर्न खोजेका छन् । नेपालले कूटनीतिक माध्यमबाट स्पष्ट असहमति जनाइसकेको छ । सहमति र सहभागिताविना हुने कुनै पनि सम्झौता अनुचित हुन्छ । समस्याको समाधान तथ्य र प्रमाणका आधारमै खोजिनुपर्छ ।”

उनले सुगौली सन्धि नै नेपालको वास्तविक सीमा निर्धारण गर्ने आधार भएको दाबी गर्दै नेपालको अडान कानूनी, ऐतिहासिक र तथ्यपूर्ण प्रमाणमा आधारित रहेको जोड दिए ।

यस्तै, पोखरेलले वर्तमान सरकारलाई अघिल्ला अवस्थासँग तुलना गर्दा सफल देखिएको दाबीसमेत गरे । उनका अनुसार राजस्व वृद्धि, खर्च गर्ने क्षमता सबल, लगानीमैत्री वातावरण निर्माण र निजी क्षेत्र उत्साहित हुनु सरकारको उपलब्धि हो ।

यस अवसरमा उनले एमालेको दोस्रो विधान महाधिवेशन भदौ २१, २२ र २३ गते हुने जानकारी गराउँदै महाधिवेशनमा राजनीतिक, संगठनात्मक र विधान संशोधनसम्बन्धी तीन प्रस्तावमाथि छलफल हुने बताए । उनका अनुसार, सो छलफलमा करिब ६ लाख ५० हजार सदस्य सहभागी हुनेछन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेशबारे पत्रकारले सोध्दा महासचिव पोखरेलले सो कदम उचित नहुने स्पष्ट पारे । उनले भने, “पूर्वराष्ट्रपति जस्तो सम्मानित व्यक्तिलाई सामाजिक रूपमा सक्रिय रहन कुनै रोकतोक छैन । तर उनलाई राजनीतिक गतिविधिमा तान्नु वा घरभित्र बन्धक बनाउनु दुवै उपयुक्त होइन ।”

प्रकाशित मिति: ७ भाद्र २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com