काठमाडौं । काठमाडौंको गौशाला प्रहरी वृत्तको हिरासतमा रहेका एक थुनुवामाथि प्रहरीले कुटपिट गरेको आरोप लागेको छ।
धादिङ घर भएका अनिल बिसंखे नामका थुनुवालाई अनुसन्धानका क्रममा प्रहरी जवान मदन भण्डारीले कुटपिट गरेको परिवारले दाबी गरेको हो। उनी एक पूर्वसैनिक अधिकृतको घरबाट ल्यापटपसहितका ग्याजेट चोरी गरेको अभियोगमा पक्राउ परेका थिए।
परिवारका अनुसार कुटपिटका कारण बिसंखेको बायाँ गालाको माथिल्लो भागको हड्डी भाँचिएको छ र उपचारमा झण्डै ४ लाख रुपैयाँ खर्च लाग्ने अस्पतालले जनाएको छ। कुटपिटमा संलग्न भनिएका प्रहरी जवान भण्डारी पाँच वर्षदेखि गौशाला प्रहरी वृत्तमै कार्यरत छन्।
तर प्रहरी वृत्त गौशालाका डिएसपी सुकदेव खनालले भने कुटपिट भएको घटनालाई अस्वीकार गरेका छन्। ‘त्यो नामुद चोर हो, थुनुवाहरूलाई नियमित मेडिकल चेकअप गराएर नै थुनामा राख्ने गरिएको छ ।’ डिएसपी खनालले बताए।
प्रहरी आचारसंहितामा हिरासतमा रहेका व्यक्तिको मानवअधिकार सम्मान गर्नुपर्ने र कुटपिट गर्न नहुने प्रावधान छ। तर यस्ता प्रावधान उल्लङ्घन गरी अनुसन्धानको नाममा यातना दिने क्रम रोकिएको छैन। यसअघि पनि प्रहरी कस्टडीमै थुनुवाको मृत्यु भएको घटनाहरू सार्वजनिक भइसकेका छन्।
प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार











प्रतिक्रिया