डोटी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सह–प्रवक्ता रमेश प्रसाईले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि राष्ट्रवादको नाममा नाटक गरेको आरोप लगाएका छन्।
सहकारी ठगी र संगठित अपराध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिसोध गरिएको दाबी गर्दै हस्ताक्षर संकलन अभियानका क्रममा डोटी पुगेका प्रसाईले यस्तो आरोप लगाएका हुन्।
उनले भने, “कुनै बेला प्रधानमन्त्री ओलीले चुच्चे नक्सा ल्याएर राष्ट्रवादको नाटक गरे। त्यो नाटक पो रहिछ भन्ने कुरा सरकारलाई नयाँ नोट छाप्दा देखियो। दशैंमा नयाँ नोट छापेनन्, किनभने त्यसमा कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नक्सा राख्नुपर्ने हुन्थ्यो।”
भारत भ्रमणका क्रममा पनि प्रधानमन्त्री ओलीले यस विषयलाई गम्भीरतापूर्वक नउठाउने दाबी गर्दै उनले व्यङ्ग्य गर्दै भने, “बरु हल्ला छ—भारतले हाम्रा प्रधानमन्त्रीलाई कुकुर उपहार पठाएको।”
प्रसाईले पत्रकारकै भूमिकामा हुँदा पनि रवि लामिछानेले लिपुलेक, कालापानी र लिम्पियाधुराबारे तथ्यसहित आवाज उठाएको स्मरण गर्दै परिवर्तनका लागि रास्वपामा आबद्ध हुन आव्हान गरे। उनले उदाहरण दिंदै भने, “हामी पाँच वर्ष दलहरूलाई गाली गर्छौं, तर चुनावमा फेरि तिनैलाई भोट हाल्छौं। यस्तो हुँदा परिवर्तन सम्भव हुँदैन।”
रविमाथि अन्यायपूर्ण व्यवहार भएको भन्दै प्रसाईले हस्ताक्षर अभियानमा सहभागी हुन आग्रह गरे। उनले दाबी गरे, “२०७९ सालको निर्वाचनमा एमालेले समानुपातिकतर्फ २८ लाख मत पायो। अहिले हाम्रो अभियानमा ३४ लाखले हस्ताक्षर गरिसकेका छन्। यसले पनि रविमाथि राजनीतिक प्रतिसोध भएको पुष्टि गर्छ।”
उनका अनुसार, रविमाथि मात्र नभई अन्य दलका नेता–कार्यकर्ताले समेत थुनालाई अन्यायपूर्ण भनेका छन्। “कांग्रेसका नेता डा. शेखर कोइराला र माओवादी अध्यक्ष प्रचण्डले पनि रविमाथि प्रतिसोध गरिएको मान्नुभएको छ,” प्रसाईले भने, “त्यसका स्थानीय नेता–कार्यकर्ताले समेत हस्ताक्षर अभियानमा साथ दिइरहेका छन्।”
सरकारले कुनै प्रमाणबिना कानुनको दुरुपयोग गरी झूटो मुद्दा लगाएको आरोप लगाउँदै उनले प्रश्न गरे, “देशभरका सहकारी संस्थामा ८८ अर्ब रुपैयाँबराबरको ठगी भएको छ। अन्य दलका नेताहरू समेत संलग्न छन्। तर किन रविलाई मात्रै थुनियो?”
उनले जिवि राईको नाममा काठमाडौं र पोखरामा रहेको करिब १०० रोपनी जग्गा कव्जा गरेर सहकारी पीडितलाई रकम फिर्ता दिन सकिने सुझाव दिँदै, “सरकारलाई पीडितप्रति चिन्ता भएको भए यस्तो गर्थ्यो,” भने।
सम्बोधनका क्रममा प्रसाईले अदालतबारे पनि कटाक्ष गरे। “म अदालतको विषयमा बोल्दिनँ, किनभने अदालतबारे बोल्नै पाइँदैन,” उनले भने, “अदालतबाट ईटा भट्टामा मानिस जलाउने अभियोगमा पनि आपराधिक आरोप लागेका नेता छुट्छन्, तर अदालतबारे बोल्न निषेध छ।”
उनले थपे, “न्यायाधीश नियुक्तिमा कुन पार्टीलाई कुन हिस्सा परेको हो भन्ने समाचार खुला रूपमा आउँछ, तर अदालतप्रति प्रश्न उठाउन पाइँदैन।”
प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार













प्रतिक्रिया