काठमाडौं ।  उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालको औपचारिक भ्रमणमा आएकी भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनबीच प्रतिमण्डलस्तरीय भेटवार्ता सम्पन्न भएको छ। आइतबार सिंहदरबारमा सम्पन्न वार्तामा दुई मुलुकबीच धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन, द्विपक्षीय व्यापार, लगानी, प्राविधिक सहयोगलगायतका विषयमा व्यापक छलफल भएको हो।

परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश अधिकारीका अनुसार भेटवार्ता मित्रवत्, न्यानो र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। वार्तामा दुवै मुलुकबीच धार्मिक समानता रहेको र पर्यटन क्षेत्रलाई अझै प्रबर्द्धन गर्न सकिने सम्भावनाबारे विचार आदान–प्रदान भएको उनले जानकारी दिए।

advertisement

उनका अनुसार दुवै मुलुकबीच मन्त्रालयस्तरीय तथा विभिन्न तहमा भ्रमण आदान–प्रदान गर्ने सहमति भएको छ। सो अवसरमा नेपाल–भियतनामबीच हवाई सम्पर्क विस्तारबारे पनि आपसी छलफल भएको अधिकारीले जानकारी दिए।

भियतनाम उच्च आर्थिक वृद्धिदर हासिल गर्न सफल मुलुक भएकाले नेपालले त्यहाँको अनुभवबाट सिक्न सक्ने र लगानी आकर्षित गर्न सक्ने विषयमा समेत छलफल भएको थियो। साथै, द्विपक्षीय व्यापार, लगानी, डिजिटल प्रविधि र जनस्तरको सम्बन्धलाई सुदृढ बनाउने विषयमा पनि कुराकानी भएको उनले बताए।

वार्तामा दुवै देशबीचको सम्बन्ध मित्रता, सद्भावना, सार्वभौमिकताको सम्मानमा आधारित रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चमा साझा धारणासहित अघि बढ्ने प्रतिबद्धता दुवै पक्षले जनाएका थिए।

यसअघि शनिबार उपराष्ट्रपति यादवको निमन्त्रणामा उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेकी थिइन्। नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठका अवसरमा भएको यो भ्रमण भियतनामको तर्फबाट पहिलो उच्चस्तरीय भ्रमण भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणको क्रममा उपराष्ट्रपति सुआनले उच्चस्तरीय राजनीतिक भेटवार्ता, विभिन्न क्षेत्रीय छलफलमा सहभागिता र सांस्कृतिक स्थलहरूको अवलोकन गर्ने कार्यक्रम रहेको छ। उनी भदौ ९ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

प्रकाशित मिति: ८ भाद्र २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com